लेटाङ । लेटाङ नगरपालिकामा बीमा सचेतना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनामा भएको कार्यक्रममा बीमा सम्बन्धि जनचेतना जगाउनुका साथै बीमा क्षेत्रमा देखापरेका समस्या बारे छलफल तथा अन्तरकृया गरिएको छ । कार्यक्रमको सुरुमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका सहायक निर्देशक पुष्पा खनालले बीमाको परिचय, प्रकार, आवश्कता, महत्व र उद्देश्यका साथै नेपाल बीमा प्राधिकरणको काम कर्तव्य र अधिकार लगायतका बारेमा जानकारी गराउनुभयो ।
बीमा सम्बन्धि विभिन्न विषयमा जानकारी गराएपश्चात सहभागीहरुलाई बीमा सम्बन्धि जिज्ञाशा राख्नका लागि समय उपलब्ध गराइएकोमा सहभागीहरुले आ–आफ्नो जिज्ञाशा राखेका थिए । उनीहरुले खासगरि कृषि बालीको बीमा गर्ने विधि, पशुबीमा लगायतका बीमा गर्दा रकम भुक्तानी प्रकृयामा देखापरेका समस्या, बीमा फिर्ता गर्दा झेल्नुपर्ने झन्झट लगायतका बारेमा जिज्ञाशा राखेका थिए । सहभागीले राखेका जिज्ञाशाको नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका प्रमुख उपनिर्देशक विनोद कुमार पोखरेलले पालैपालो जवाफ दिनुभयो ।

उहाँले प्राधिकरणले कोशी प्रदेशका विभिन्न स्थानीय तहमा २ वर्षदेखि बीमा सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्दै आएको भन्दै सोही शिलशिलामा लेटाङ नगरपालिकामा गरिएको यस कार्यक्रममा सरोकारवालाहरुको उत्साहपूर्ण सहभागीता रहेको बताउनुभयो । स्थानीय सरकारलाई वार्षिक बजेट बनाउँदा विमा क्षेत्रलाई प्राथमिकता राख्न पे्ररित गराउने समेत कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाइ छ ।
उपनिर्देशक पोखरेलले लेटाङमा बाली विमाका लागि कृषकहरु उत्सुक रहेको पाइएकाले त्यसका लागि तत्काल अन्तरकृया कार्यक्रम गरेर वातावरण बनाउन बोर्डद्वारा तोकिएको बीमा कम्पनी सानीमा जेआइसी इन्सुरेन्सलाई निर्देशन दिएको पनि जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीले नगरपालिका आफैँले बीमा सम्बन्धी सचेतनामुलक कार्यक्रम गर्ने तयारी गरिरहेका बेला बीमा प्राधिकरणले कार्यक्रम ल्याएकोमा धन्यवाद दिनुभयो । उहाँले बीमाको भुक्तानी प्रक्रियामा धेरै जटिलता रहेको भन्दै स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न पनि बीमा कम्पनीहरुलाई आग्रह गर्नुभयो ।

लेटाङका कृषकहरु बाली विमाका लागि उत्सुक भएपनि तोकिएको बीमा कम्पनीले चासो नदेखाएको होकी भन्ने भान भएको बताउँदै नगर प्रमुख लावतीले तत्काल बाली बिमा सम्बन्धी सचेतानमुलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित बीमा कम्पनीलाई आग्रह गर्नभयो ।
फरक प्रसंगमा बोल्दै नगर प्रमुख लावतीले कृषि उपजको संकलन र बजारीकरणका लागि नगरपालिकाले तयारी गरिरहेको भन्दै समर्थन मूल्य तोकेर कृषि उपज विक्री बितरण गर्ने योजना भइरहेको जानकारी दिनुभयो ।
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशका प्रमुख उपनिर्देशक विनोद कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुक कृष्णकुमारी निरौला, वडाध्यक्षहरु लगायतका जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गौतम लगायतका कर्मचारीहरु, अगुवा कृषकहरु, विभिन्न बीमा कम्पनिका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु लगायत सरोकारवाला सँघसँस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।