लेटाङ । लेटाङ नगरपालिकाले नगरका युवायुवतीहरुलाई लक्षित गर्दै लोकसेवा तथा शिक्षा सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गत चैत्र २५ गतेदेखि सुरु भएको लोकसेवा तथा शिक्षा सेवा आयोगको चौथो तहको तयारी कक्षा बुधबार सम्पन्न भएको छ । लेटाङ क्याम्पसको हलमा १५ दिनसम्म सञ्चालन भएको तयारी कक्षा बुधबार एक कार्यक्रमकाबीच समापन गरिएको हो । तयारी कक्षामा लेटाङ नगरपालिका भरिका १७ जना युवायुवती सहभागी भएका छन् ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी, लेटाङ क्याम्पसका प्रमुख रामप्रसाद बराल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख भुपेन्द्रकुमार लावतीले नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरु परिणाममुखि हुनुपर्ने भन्दै मेहनतका साथ परीक्षाको तयारीमा जुट्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख कृष्णकुमारी निरौलाले तयारी कक्षामा सिकेका कुराहरुलाई मनन गरि अझ मेहनत गरेर परीक्षाको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले आत्मविश्वास कायम गरेर अघि बढ्नुपर्ने भन्दै एकपटकको प्रयासमा सफल हुन नसकेपनि निरन्तर लागि परेर प्रातिस्पर्धामा आउन प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले लोकसेवा आयोगको परीक्षाको तयारी गर्ने विधि बारेमा आफ्नो अनुभव सुनाउनुभयो । उहाँले पछिल्लो समय प्रविधिको विकासले समेत लोकसेवा तयारीका लागि सहज भएको बताउँदै त्यसलाई सदुपयोग गर्न पनि आग्रह गर्नुभयो ।
यता तयारी कक्षामा सहभागी भएका विद्यार्थीहरुले नगरपालिकाले लोकसेवा र शिक्षा सेवा आयोगको चौथो तहको तयारी कक्षा सञ्चालन गरेकोमा खुशी व्यक्त गरेका छन् । उनीहरुले कक्षामा लोकसेवा तथा शिक्षा सेवाको तयारी गर्दा कसरी पढ्ने र कसरी प्रतिस्पर्धामा आउने भन्ने विषयमा धेरै कुरा सिकेको बताएका छन् ।

तयारी कक्षामा सुन्दरहरैँचा नगरपालिकाका शाखा अधिकृत विनोद न्यौपाने, अनिल पोखरेल, लेटाङ नगरपालिकाका सरोज सुवेदी र अनिल मिश्रले सहजिकरण गर्नु भएको थियो । नगरपालिकाले सार्वजनिक रुपमा सूचना प्रकाशित गरेर तयारी कक्षाका लागि विद्याथीईहरुलाई आह्वान गरेर कक्षा सञ्चालन गरेको हो ।
नगरका युवायुवतीहरुलाई सरकारी सेवामा प्रवेश गर्न प्रोत्साहन गर्ने तथा परीक्षाको तयारी गरिरहेकाहरुलाई मार्गदर्शन गर्ने उद्देश्यका साथ चौथो तहको परीक्षाको तयारी कक्षा सञ्चालन गरिएको नगरपालिकाका योजना शाखा प्रमुख चेतनाथ गौतमले जानकारी दिनुभयो ।