लेटाङ । लेटाङ नगरपालिकामा लागुऔषध दुर्व्यसन तथा यौनजन्य अपराध नियन्त्रणका लागि स्थानीयवासी एकजुट भएका छन् । नवगठित लेटाङ सचेत नागरिक समाजको आह्वानमा लेटाङवासीले लागुऔषध दुर्व्यसन तथा यौनजन्य अपराध विरुद्ध शनिबार वृहत र्याली प्रदर्शन गरेका छन् । र्यालीमा स्थानीय २ दर्जन बढी संघसँस्था तथा सयौँ स्थानीयवासीले स्वतरुफूर्त रुपमा सहभागिता जनाएका छन् ।

लेटाङ बजार पुछारको गंगे चौकदेखि सुरु भएको सचेतना र्याली मुख्यबजार हुँदै मिलनचौकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा सहभागीहरुले लागुऔषध दुर्व्यसन तथा यौनजन्य अपराध विरुद्धका विभिन्न नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

र्यालीपछि भएको कोणसभामा बोल्दै आयोजक सँस्था लेटाङ सचेत नागरिक समाजका सदस्य एकराज अधिकारी, स्थानीय समाजसेवी सुवन याखा, मनकुमारी राई, वुद्धि चाम्लिङ र मिस लेटाङ कृष्टिना राईले लेटाङमा लागुऔषध दुर्व्यसन र यौनजन्य अपराध नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै पूर्वलागुऔषध प्रयोगकर्ता समेत रहनु भएका आयोजक सँस्थाका सदस्य दलबहादुर लिम्बूले आफ्नो अनुभव सुनाउँदै लागुऔषध दुर्व्यसनबाट टाढै रहन युवाहरुलाई आग्रह गर्नुभयो । उहाँले लागुऔषध दुर्व्यसन तथा यौनजन्य अपराध नियन्त्रणको अभियानमा साथ दिन सबैलाई आह्वान पनि गर्नुभयो ।

कार्यक्रमपश्चात सञ्चारकर्मीसँगै बोल्दै समाजका अध्यक्ष भरतकुमार राईले लागुऔषध दुव्र्यसन विरुद्धको सचेतनामुलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताउँदै आगामी दिनमा नगरपालिकाका गाउँटोलसम्म पुगेर अभियान अघि बढाउने योजना रहेको जानकारी दिनुभयो ।

यस्तै इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीले लेटाङ सचेत नागरिक समाजले निकै राम्रो अभियान सुरु गरेको भन्दै अभियानमा प्रहरी प्रशासनको तर्फबाट सँधै सहयोग र सहकार्य रहने बताउनुभयो ।
यसैगरि र्यालीमा सहभागी स्थानीयवासीले समेत लेटाङमा लागुऔषध दुर्व्यसन तथा यौनजन्य अपराध न्यूनिकरणका लागि अभियान सुरु गरेकोमा लेटाङ सचेत नागरिक समाजलाई धन्यवाद दिंदै सहयोग गर्न तयार रहेको बताएका छन् ।

र्यालीमा २ दर्जन बढी संघसँस्थाहरु र सयौँ स्थानीयवासी स्वतस्फूर्त रुपमा सहभागी भएका थिए । लेटाङमा रहेका विभिन्न युवा क्लवहरु, सामुदायीक वन, जातजातिका सँस्थाहरु, स्काउट, जेसीज, नेपाल प्रहरी, विद्यार्थी, खेलाडी, व्यवसायी लगायत सर्वसाधारण नागरिकहरुले उत्साहजनकरुपमा सचेतना र्यालीमा सहभागिता जनाएका थिए ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।

