लेटाङ । लेटाङ नगरपालिकाले सञ्चालन गरेको सवारीचालक (ड्राइभिङ) तालिम लिएका युवायुवती मध्ये ९० प्रतिशतले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन सफल भएका छन् ।
नगरपालिकाले दलित समुदायको शिप विकासका लागि छुट्याएको रकमबाट सञ्चालन गरिएको ड्राइभिङ तालिम लिएका १० जना युवायुवती मध्ये ९ जनाले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन सफल भएका हुन् । उनीहरुलाई शुक्रबार लेटाङ नगरपालिकाले प्रमाणपत्र वितरण गर्नुका साथै खादा लगाएर सम्मान गरेको छ ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले तालिम लिएर सवारीचालक अनुमतिपत्र (लाइसेन्स) समेत पाएका युवायुवतीहरुलाई खादा लगाएर सम्मान गर्नुका साथै प्रमाणपत्र वितरण गर्नुभयो ।

सो अवसरमा बोल्दै नगर प्रमुख भूपेन्द्रकुमार लावतीले नगरपालिकाको परिणाममुखि तालिम प्रदान गर्ने नीति अन्तरगत ड्राइभिङ तालिम सञ्चालन गरिएकोमा सोहि अनुशारको परिणाम आएको भन्दै प्रशिक्षार्थीहरुलाई धन्यवाद दिनुभयो । यस्तै उपप्रमुख कृष्णकुमारी निरौलाले तालिममा सहभागी प्रशिक्षार्थीहरुको मेहनतका कारण नगरपालिकाको लगानीले सार्थकता पाएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिंदै जाने बताउनुभयो ।

यसैगरि दलित समन्वय समिति लेटाङका अध्यक्ष डिल्ली विश्वकर्मा र सचिव गोपाल नेपालीले नगरपालिकाले दिएको तालिम लिएर ९ जनाले लाइसेन्स निकाल्न सफल भएको तथा त्यसमध्ये एकजनाले रोजगार समेत सुरु गरेको भन्दै नगरपालिकालाई धन्यवाद दिनुभयो । उहाँहरुले आगामी दिनमा अझ धेरै जनालाई तालिम प्रदान गरिदिन पनि नगरपालिकालाई आग्रह गर्नुभयो ।

नगरपालिकाले दलित समन्वय समिति लेटाङसँगको समन्वयमा नेम्वाङ ड्राइभिङ सेन्टर दकममार्फत आवासिय रुपमा युवायुवतीहरुलाई तालिम प्रदान गरेको योजना शाखा प्रमुख चेतनाथ गौतमले जानकारी दिनुभयो ।
तालिममा सहभागी भएका युवायुवतीहरुले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) पाउन सक्ने गरि गुणस्तरीय तालिम प्रदान गरेकोमा नगरपालिकालाई धन्यवाद दिएका छन् । उनीहरुमध्ये कतिपयले लाइसेन्स लिएपछि सवारी चालक भएर आयआर्जन समेत गर्न थालेको बताएका छन् ।