जाँते । लेटाङ ८ जाँते स्थित नोवेल एजुकेशन एण्ड डेभ्लोप्मेन्ट फाउण्डेशनले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । आज शुक्रबार विद्यालयमा विशेष कार्यक्रम गरि चालु शैक्षिक सत्रमा नयाँ भर्ना भइ विद्यालयमा पठन पाठन शुरु गरेका नवआगन्तुक ९० जना विद्यार्थीहरुलाई स्वागत गरिएको हो । विद्यालयमा रहेको नोबेल बाल क्लवको आयोजनामा भएको कार्यक्रममा कक्षा पीजीदेखि कक्षा ९ सम्मका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा विद्यालयका प्रधानाध्यापक भोलानाथ पाण्डे, व्यवस्थापन समितिका पदाधिकारीहरु, बाल क्लवका प्रतिनिधिहरु लगायतले विद्यार्थी तथा उनीहरुका अभिभावकलाई समेत दोसल्ला ओढाएर टीका लगाई स्वागत सम्मान गर्नुभयो । विद्यार्थीहरुलाई स्वागत गर्दै बाल क्लवका प्रतिनिधिहरुले पुष्पगुच्छा अर्पण गरि पेन्सील तथा डटपेन उपहार प्रदान गरेका थिए ।

यसैगरि कार्यक्रममा यसैवर्ष विद्यालयमा अध्यापन गराउन थालेका नवआगन्तुक शिक्षक र कर्मचारीहरुलाई समेत विद्यालयको तर्फबाट स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै विद्यायका प्रधानाध्यापक भोलानाथ पाण्डेले पुराना विद्यार्थीहरुको ससम्मान विदाइ तथा नयाँ विद्यार्थीहरुको उत्साहपूर्ण आगमनलाई मध्यनजर गर्दै विद्यालयले नियमितरुपमा स्वागत तथा विदाई कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयले गुणस्तरीय शिक्षाका साथै खेलकुद लगायतका अतिरिक्त क्रियाकलापहरुमा जोड दिंदै आएको भन्दै विद्यालयप्रति विद्यार्थीहरुको आकर्षण बढ्दो रुपमा रहेको बताउनुभयो ।

बाल क्लवकी अध्यक्ष रोजिना ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न गायन, नृत्य लगायतका प्रतिभा प्रस्तुत गर्दै सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका थिए ।

यसैगरि कार्यक्रममा विद्यालयको क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचनमा विजयी भएका विद्यार्थीको नाम घोषणा गर्दै बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । विहीबार भएको निर्वाचनबाट क्याप्टेनमा विजयी भएका विवेक लिम्बू र भाइस क्याप्टेनमा विजयी हुने सजिना लिम्वूको नाम घोषणा गरिएको हो ।

विहीबार विद्यालय परिसरमा निर्वाचनकै झल्को दिनेगरि क्याप्टेन र भाइस क्याप्टेनका लागि मतदान भएको थियो । विद्यार्थीहरुलाई प्रजातान्त्रिक अभ्यास सिकाउने उद्देश्यले स्कुलको क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन गरिएको विद्यालयले जनाएको छ ।
