इटहरी । सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसीयन सुटिङबल च्याम्पियनसिप २०२५’ शुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरि ४ देशका खेलाडीहरू सहभागी छन् । यस वर्षको प्रतियोगितामा नेपालबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिममा ४५ जना खेलाडी सहभागी छन् । भारतबाट ६२ जना, बांगलादेशबाट १२ जना, र पाकिस्तानबाट १४ जना खेलाडी प्रतियोगितामा सहभागी छन् ।

रेवतीरमण भण्डारीले शनिबार इटहरी रंगशालामा प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उहाँले कोशी प्रदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो ।
मन्त्री भण्डारीले यस्ता खेलकुद गतिविधिहरूले प्रदेशको खेल क्षेत्रको विकास मात्र नभई देशहरुबीचको सम्बन्धलाई सुदृढ बनाउन पनि महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले प्रदेश सरकारले आउँदो वर्षको बजेटमा सुटिङबल खेललाई समेट्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रदेशस्तरमा खेलकुद संरचनाहरू विकास गर्न, खेलाडीहरूको क्षमता अभिवृद्धि गर्न तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजनाका लागि बजेटको व्यवस्था गर्न आफूले आवश्यक पहल गर्ने पनि मन्त्री भण्डारीले बताउनुभयो । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु प्रदेश सरकारका लागि गर्वको विषय भएको भन्दै उहाँले यसको निरन्तरताको पक्षमा आफू प्रतिबद्ध रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै एसीयन सुटिङबल फेडरेसनका महासचिव रविन्द्रसिंह तमोरले प्रतियोगिताको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूले खेलाडीहरूलाई विश्वस्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिने मात्र नभई देशहरूबीचको आपसी सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता गर्नु भएका एसीयन सुटिङबल फेडरेसनका उपाध्यक्ष केशव विष्टले दोस्रो एसीयन सुटिङबल च्याम्पियनसिप २०२५ ले नेपालमा सुटिङबल खेलको प्रवर्धनमा ठुलो भूमिका खेल्ने बताउनुभयो ।
गत वर्ष भारतको नयाँ दिल्लीमा सम्पन्न सुटिङबल वर्ल्ड च्याम्पियनसिपमा नेपालले उल्लेखनीय प्रदर्शन गरेको थियो । कुल ११ देशको सहभागिता रहेको त्यस प्रतियोगितामा नेपालका महिला र पुरुष दुवै टिमले तेस्रो स्थान हासिल गरेका थिए । नेपालले यसपटकको प्रतियोगितामा आफ्नो प्रदर्शनलाई अझ सुधार गर्दै पदक तालिकामा अग्रस्थान हासिल गर्ने लक्ष्य राखेको छ ।