मोरङ । पठन संस्कृतिको विकास तथा लेखक, स्रष्टाप्रति सम्मान गर्ने उद्देश्यले बेलबारीमा कार्यक्रमका प्रमुख अतिथिबाटै लेखकको कृति खरिद गरेर सोही कृतिको लोकार्पण गर्ने कामको सुरुवात भएको छ । बेलबारी बहुमुखी क्याम्पसको सभा हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, सभापति, विशिष्ट अतिथिहरूबाट कृति खरिद गरेर त्यसैको लोकार्पण गरेका हुन् ।

अनुसन्धान अक्षयकोष निर्माणार्थ लेखक तथा अनुसन्धाता केशु विरहीद्वारा लिखित शोधमूलक कृतिको आयोजक संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति रमेश निरौला, विशिष्ट अतिथिहरू बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, स्रष्टा एवम् पूर्व सांसद हर्कमान तामाङ, कवि एवम् समीक्षक मिश्र वैजयन्ती, भाषाविद् अमृतप्रसाद आचार्य (आचार्य अ.), भाषाविद् मेदिनीप्रसाद बराल, कवि तथा अन्वेषक अनिल पौडेल, राजनीतिक तथा शैक्षिक व्यक्तित्वहरू विनोद भण्डारी र डा. उद्धव पोखरेल, बेलबारी बहुमुखी क्याम्पसका प्रमुख भूपेन्द्रप्रसाद कोइराला, बेलबारीका अग्रज स्रष्टा ईरान राई, साहित्यका छवि वैरागी घिमिरे लगायतका विशिष्ट व्यक्तित्वहरूले कृति खरिद गरेर लोकार्पण कार्यक्रममा भाग लिनुभयो ।

बेलबारी साहित्य विकास समिति, बेलबारी मोरङको आयोजना, बेलबारी बहुमुखी क्याम्पस तथा जुझारु मिडिया एन्ड रिसर्च सेन्टर, बेलबारी मोरङको सह आयोजनामा सम्पन्न कार्यक्रममा कोसी प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि कोसी प्रदेशका सांसद सुवेदीले कला साहित्यको विकासमा मोफसल भएपनि बेलबारी निकै अघि रहेको बताउँदै यसको विकासमा सबैले लाग्नुपर्ने बताउनुभयो । बेलबारी नगरपालिकाका पूर्व प्रमुखसमेत रहेका सुवेदीले राम्रो उद्देश्य राखेर कृति प्रकाशन गरेकामा लेखक विरहीलाई बधाईसमेत दिँदै यस्तै राम्रा काम गर्न अनुरोध गर्नुभयो ।
यस्तै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले अनुसन्धानको महत्वको बारेमा बताउँदै लेखकले बेलबारीका विषयमा गरेको खोजी र त्यसको विकासमा पु¥याएको योगदानको मूल्याङ्कन हुने बताउनुभयो ।
लोकार्पित कृतिमाथि डा. दीपकप्रसाद न्यौपानेको समीक्षा रहेको थियो । समीक्षक न्यौपानेले यस कृतिमा विरहीको कडा मेहनत मिसिएको बताउनुभयो । अनुसन्धानका काम निकै कठिन हुने भए पनि विरहीले निकै आँट गरेर यस्ता काम गरिरहेकामा उहाँले खुलेर प्रशंसा पनि गर्नुभयो ।
यस्तै भाषाविद् आचार्य अ.ले यसरी अनुसन्धान गर्ने व्यक्ति समाजमा निकै कम हुने गरेको बताउँदै विरहीको कार्य प्रशंसा तथा सम्मान गर्न लायक भएको बताउनुभयो । कार्यक्रममा बोल्ने सबै वक्ताले कृतिकार विरही तथा उहाँले सुरु गरेको अनुसन्धान अक्षयकोष अभियानलाई शुभकामना दिएका थिए ।
पठन संस्कृति हराउँदै गइरहेको, त्यसमा नेपाली साहित्यका कृतिहरू सित्तैमा उपहार स्वरूप बाँडेर सक्नुपर्ने बाध्यता भइरहेको बेलामा बेलबारीबाट चलाएको यस अभियानले नेपाली साहित्यका पाठकमा एउटा आशाको सञ्चार गरेको धेरैको बुझाइ रहेको थियो । नौलो भएपनि धेरैले यस अभियानको खुलेर प्रशंसा गरेका छन् ।
बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने स्रष्टा नवराज पोखरेल नवशिलाले गर्नु भएको थियो ।