लेटाङ । लेटाङ नगरपालिकाले नगरमा फुटबल खेलको विकासका लागि खेलाडीहरुसँग अन्तरकृया गरि सुझाव लिएको छ । नगरपालिकाले आज आइतबार लेटाङ फुटबल क्लवका पदाधिकारी, प्रशिक्षक र खेलाडीहरुलाई नगरपालिकामा बोलाएर अन्तरकृया गरि फुटबल खेलको विकासका लागि के गर्न सकिन्छ भनेर सुझाव मागेको हो ।
कार्यक्रमको सुरुमा बोल्दै नगर खेलकुद विकास समितिका सदस्य जीतबहादुर लामाले नगरपालिकाले समग्र खेल क्षेत्रको विकासका लागि गरिरहेको काम बारे जानकारी गराउनुभयो । उहाँले नगरपालिकाले महिला भलिवलको प्रशिक्षण सञ्चालन गरिरहेको र केहि दिनमा फुटबल खेलको प्रशिक्षण समेत सुरु हुन लागिरहेको जानकारी दिनुभयो ।
यस्तै नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठले नगरपालिकाले विस्तारै खेल क्षेत्रलाई व्यवस्थित गर्दै अघि बढेको बताउनुभयो । उहाँले फुटबल खेलको विकासका लागि फुटबल एकेडेमी सञ्चालन गरेर अघि बढ्नुपर्ने बताउँदै त्यसका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
छलफलका क्रममा लेटाङ फुटबल क्लवका कप्तान राष्ट्रिय खेलाडी अभिषेक लिम्बूले नगरपालिकाले फुटबल खेलको विकासका लागि गर्नुपर्ने काम बारे सुझाव दिनुभयो । उहाँले नगरमा एउटा नगरस्तरीय रंगशाला निर्माण गर्न नगरपालिकालाई आग्रह गर्दै फुटबल खेलको नियमित प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
कार्यक्रमा बोल्दै लेटाङ फुटबल क्लवका प्रशिक्षक इन्द्र राईले फुटबल क्षेत्र नगरपालिकाको प्राथमिकतामा नपरेको भन्दै गुनाशो गर्नुभयो । उहाँले स्थानीय सरकार कायम भएको ७ वर्ष पुगिसक्दा समेत कुनै पनि नेतृत्वले फुटबलको विकासमा ध्यान नदिएको बताउनुभयो । प्रशिक्षक राईले फुटबल खेलको विकासका लागि नगरस्तरीय रंगशाला निर्माण गर्नुपर्ने तथा फुटबल खेलाडी उत्पादन गर्न फुटबल एकेडेमी स्थापना गर्नुपर्ने सुझाव दिनुभयो । फुटबल खेललाई व्यवसायीक बनाएर लैजानुपर्ने बताउँदै उहाँले त्यसका लागि स्वयम् खेलाडीहरु, खेलाडीका परिवार र स्थानीय सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा खेलाडीहरुको गुनाशो र सुझाव सुनिसकेपछि नगर प्रमुख भूपेन्द्र कुमार लावतीले फुटबल खेलको विकासका लागि नगरका योजनाहरु बारे जानकारी गराउनुभयो । फुटबल खेलको विकास गर्नुपर्छ भन्ने सोचका साथ नै खेलाडीहरुसँग अन्तरकृया सुरु गरिएको भन्दै उहाँले नगरपालिका खेलकुद क्षेत्रप्रति संवेदनशील रहेको बताउनुभयो । नगर प्रमुख लावतीले आफु नेतृत्वमा आएपछि नगर खेलकुद विकास समिति बनाएर खेलकुद क्षेत्रलाई व्यवस्थित बनाएको भन्दै प्याब्सन खेल मैदानलाई नगरस्तरीय रंगशालाको रुपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले त्यस स्थानमा नगरस्तरीय रंगशाला निर्माणका लागि कानुनी बाधाहरु रहेकाले हाल आफु त्यसको समाधानमा लागि परेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा भर्खरै लेटाङमा सम्पन्न अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको उपविजेता समेत रहेका लेटाङ फुटबल क्लवका खेलाडीहरुलाई नगरपालिकाले खादा लगाएर सम्मान गरेको छ । साथै नगरपालिकाले खेलाडीहरुलाई जर्सि र फुटबल समेत प्रदान गरेको छ ।
नगर प्रमुख भूपेन्द्र कुमार लावतीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक तथा लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, खेलकुदा विकास समिति सदस्य जीतबहादुर लामा, अरुण राई, लेटाङ फुटबल क्लवका अध्यक्ष माधव लिम्बू, प्रशिक्षक इन्द्र राई, सहायक प्रशिक्षकद्वय विजय मगर, सरोज मगर, कप्तान अभिषेक लिम्बू लगायत ३० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।