लेटाङ । लेटाङ नगरपालिकाले न्यायिक क्षेत्रमा भएका कामको दस्ताबेजीकरणको प्रयास स्वरुप ‘लेटाङको न्यायिक अभ्यास’ नामक पुस्तक प्रकाशन गरि सार्वजनिक गरेको छ । मंगलबार नगरपालिकाको सभाहलमा नगर प्रमुख भुपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले संयुक्तरुपमा ‘लेटाङको न्यायिक अभ्यास’ नामक पुस्तक सार्वजनिक गर्नुभयो ।

पुस्तकमा लेटाङ नगरपालिकाको न्यायिक समितिले २०७४ सालदेखि गत आर्थिक वर्ष २०८० । ०८१ को मसान्तसम्म गरेका गतिविधि, न्याय सम्पादनको क्षेत्रमा गरेका महत्वपूर्ण कार्य, असल अभ्यास लगायतका विषय समेटिएको छ । पुस्तकमा ३३ वटा लेख समेटिएकोमा २६ वटा लेख न्यायिक क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, मेलमिलापकर्ताहरु लगायत सरोकारवालाहरुको अनुभवमा आधारित छन् भने ७ वटा लेखमा न्यायिक समितिबाट सेवा लिएका सेवाग्राहीको अनुभव समेटिएको छ । यस्तै पुस्तकमा न्यायिक समितिले न्याय निरुपण गरेका १६ वटा असल अभ्यासका कथा र केहि तस्विरहरु समावेश गरिएको छ ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक कृष्णकुमारी निरौलाले ‘लेटाङको न्यायिक अभ्यास’ नामक पुस्तक लेटाङको मेलमिलाप र समग्र न्याय निरुपण प्रकृयालाई बुझ्न सहायकसिद्ध हुने बताउनुभयो । सञ्चारकर्मी खेमचन्द्र अधिकारी र रेवतीरमण निरौलाको लेखन तथा सम्पादन रहेको पुस्तक देशका अन्य पालिकाका लागि पनि आफ्ना कामको दस्ताबेजीकरणमा अनुकरणीय हुन सक्ने उहाँको भनाइ छ ।
सो अवसरमा नगर प्रमुख भुपेन्द्र कुमार लावती, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।