लेटाङ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र मोरङको आयोजनामा लेटाङमा जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम हुने भएको छ । फागुन १६ र १७ गते लेटाङ ६ स्थित तालिम केन्द्रमा सञ्चालन हुन लागेको प्रशिक्षणमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रम छ ।
नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र मोरङले आज शनिबार प्रशिक्षण कार्यक्रमको पूर्वसन्ध्यामा लेटाङ ४ स्थित चिल्ड्रेन पार्कमा फूल लगायतका वृक्षारोपण गर्दै प्रशिक्षण कार्यक्रम बारे जानकारी गराएको हो । सो अवसरमा बोल्दै समन्वय संयन्त्र मोरङका प्रमुख रविन थापाले पार्टी र पार्टीका जनवर्गिय संगठनहरुबीचको सम्बन्ध अझ गाढा बनाउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले पार्टीका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल लगायतका नेताहरुले प्रशिक्षण दिने कार्यक्रममा मोरङ जिल्लामा रहेका जनसंगठनका केन्द्रीय नेताहरु, जनसंगठनका प्रदेश कमिटीका नेताहरु र जिल्ला स्तरीय जनसंगठनका पदाधिकारीहरु सहभागी हुने जानकारी दिनुभयो ।
वृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगर प्रमुख समेत रहनु भएका नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य भूपेन्द्र कुमार लावतीले निकै महत्वपूर्ण कार्यक्रम लेटाङ नगरपालिकामा आयोजना गरेकोमा धन्यवाद दिंदै सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेकपा एमाले देशमा विद्यमान दलहरु मध्ये हरेक हिसावले अगुवा दल रहेको भन्दै पार्टीका नेता कार्यकर्तालाई नयाँ ढंगले अघि बढ्न आग्रह गर्नुभयो ।
यस्तै नेकपा एमाले जनसंगठन समन्वय संयन्त्र मोरङका सदस्य सीता तामाङले पार्टी, जनसंगठन र जनप्रतिनिधिहरुबीच समन्वय नहुँदा समस्या हुने गरेको भन्दै यस्ता प्रशिक्षणले सम्बन्ध मजबुद बनाउने बताउनुभयो । उहाँले जनसंगठनका केन्द्रीय, प्रदेश र जिल्ला तहका सहभागीहरुलाई फरक फरक कक्षामा राखेर प्रशिक्षण गराइने पनि जानकारी दिनुभयो ।
दुई दिनसम्म हुने आवसिय प्रशिक्षण कार्यक्रममा पार्टी, जनप्रतिनिधि र जनसंगठनबीचको अन्तरसम्बन्ध र माक्र्सवादको विषय प्राथमिकतामा रहने बताइएको छ ।
सोही प्रशिक्षणको प्रचार प्रसारका लागि नेकपा एमालेका नेता कार्यकर्ताहरुले लेटाङ ४ स्थित चिल्ड्रेन पार्कमा फूल लगायतका वृक्षारोपण गरेका हुन् ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी सदस्यहरु, विभिन्न जनवर्गिय संगठनका नेता कार्यकर्ताहरु, नेकपा एमाले लेटाङ नगर कमिटी सविच जीतबहादुर लामा, लेटाङ ३ का वडाध्यक्ष डम्बर बहादुर राई, लेटाङ ४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, वडासदस्यहरु लगायत नेकपा एमालेका नेता कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।