लेटाङ । लेटाङ नगरपालिकाले आगामि आर्थिक वर्ष ०८१/०८२ का लागि ६० करोड ८५ लाख ३७ हजारको बजेट ल्याएको छ । आज सोमबार बसेको नगरपालिकाको पन्ध्रौं नगरसभामा नगर बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक तथा उपप्रमुख कृष्णकुमारी निरौलाले ६० करोड ८६ लाख ३७ हजार रुपैयाँको बजेट प्रस्ुतत गर्नुभयो । उपप्रमुख निरौलाले प्रस्तुत गर्नु भएको बजेटमाथि नगरसभा सदस्यहरुले धारणा राखेपछि बजेट सर्वसहमतिमा हुबहु पास भएको छ ।
नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नगरसभा समक्ष निर्णायार्थ पेश गर्नु भएकोमा सबै नगरसभा सदस्यहरुको सर्वसहमतिमा बजेट पास भएको हो । बजेट पेश गर्नु अघि ५ जना नगरसभा सदस्यहरुले बजेट बारे बोलेका थिए । नगरसभा सदस्यहरुले राखेको धारणामाथि जवाफ दिंदै नगर प्रमुख लावतीले आगामी दिनमा नगरसभा सदस्यहरुले राखेका विषयलाई प्राथमिकता दिने बताएसँगै बजेट सर्वसहमतिले पास भएको हो ।
लेटाङ नगरपालिकाले आगामि आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा १५ करोड घटी बजेट ल्याएको हो । घाटा बजेट बनाउने भन्दा पनि यथार्थमा आधारित भएर कार्यान्वयन हुने प्रकारको विशेषतासहितको बजेट निर्माण गरिएकाले आकार केही घटेको नगर प्रमुख भूपेन्द्र कुमार लावतीले बताउनुभयो । संघीय सरकारबाट आउने अनुदान तथा स्थानीय आय समेत घटी भएकाले बजेटको आकार समेत घटाउनु परेको उहाँको भनाइ छ । लेटाङ नगरपालिकाले चालु आर्थिक वर्षका लागि ७५ करोड ९ लाख ७ हजारको बजेट लाएकोमा पछि संशोधन गरि ५४ करोड ७२ लाख ५१ हजार मा झारेको थियो ।
बजेटमा गत वर्षको मौज्दात १ करोड, चालु आवको अनुमान नगद २ कारोड ७१ लाख १५ हजार, संघ र प्रदेशबाट राजश्व बाँडफाँडबाट १७ करोड ७२ लाख २ हजार, नेपाल सरकारबाट वित्तिय हस्तान्तरणबाट ३६ करोड ०८ लाख ७० हजार, प्रदेश सरकार वित्तिय हस्तान्तरणबाट २ करोड ९८ लाख ४९ हजार र जनसहभागिताबाट ३५ लाख आम्दानी हुने अनुमान गरिएको छ ।
प्रस्तुत बजेटको खर्च शीर्षक अनुशारको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन । नगरसभा सदस्यहरुलाई वितरण गरिएको भएपनि आम सर्वसाधारणलाई भने आगामी असार ३० गते बजेट सार्वजनिक कार्यक्रममार्फत खर्च शीर्षक अनुशारको पूर्ण विवरण सार्वजनिक गरिने बताइएको छ ।
लेटाङ–४ स्थित जनसेवा सामुदायीक वनको हलमा भव्य कार्यक्रमका बीच विभिन्न सरोकारवालाहरुको उपस्थितिमा बजेट सार्वजनिक गरिने नगर प्रमुख लावतीले जानकारी दिनुभयो । बजेट सार्वजनिक कार्यक्रमलाई नगरको उत्सवको रुपमा आयोजना गर्ने तयारी भइरहेको बताउँदै उहाँले नगरका स्थानीय उत्पादनका स्टलहरु समेत सो अवसरमा प्रदर्शनीमा राखिने जानकारी दिनभुयो । साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको छ ।
नगरसभामा उपप्रमुख कृष्णकुमारी निरौलाले मुख्य मुख्य खर्च शीर्षकहरु मात्र प्रस्तुत गर्नुभयो । जसमा वडा कार्यालयहरूका लागि ५ करोड ४० लाख, “एक वडा एक नगर गौरव“ योजना लागि १ करोड ८० लाख, अन्तरधार्मिक शान्ति पार्क निर्माणका लागि संघीय सरकार समपुरक अनुदान १ करोड प्राप्त भएकोमा थप १ करोड, मुर्चुङ्गी खोला पक्की पुल निर्माणका लागि प्रदेश समपुरक अनुदान ६० लाख प्राप्त भएको मा थप ३२ लाख ३० हजार, बुद्धमार्ग कालोपत्रे निर्माणका लागि प्रदेश समपुरक अनुदान ७० लाख प्राप्त भएकोमा थप ३७ लाख ७० हजार बजेट बिनियोजन गरिएको छ ।
यसैगरि तारजाली खरिदका ३५ लाख, सडक बोर्डसँगको साझेदारीका लागि २५ लाख, वडा नम्बर ८ जाँते हाटबजार स्तरोन्नतीका लागि ३० लाख र वडा नं २ बुधबारे हाटबजार स्तरोन्नती का लागि २० लाख बजेट विनियोजन गरिएको छ ।
यस्तै शिक्षा शाखाका कार्यक्रमतर्फ १ करोड ३९ लाख ५० हजार, स्वास्थ्य शाखाका कार्यक्रमतर्फ ८० लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका कार्यक्रमतर्फ २५ लाख, युवा तथा खेलकुद विकास शाखाका कार्यक्रमतर्फ ३० लाख, कृषि शाखाका कार्यक्रमतर्फ १ करोड, पशु शाखाका कार्यक्रमतर्फ ४० लाख, सहकारी शाखाका कार्यक्रमतर्फ १० लाख र प्रकोप व्यवस्थापन कोषमा ७० लाख विनियोजना गरिएको छ । (फोटो : दिपेश खतिवडा)