इनरुवाः बोलबम गएको समूह र स्थानीयबीच हिजो राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थिति थप भड्किन नदिन स्थानीय प्रशासनले सुनसरीको ५ बजारमा कर्फ्यु आदेश जारी गरेको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गर्नुभएको हो । कर्फ्यु जारी भएका स्थानमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।
प्रशासनले सुनसरीको दक्षिण क्षेत्रमा पर्ने हरिनगरा बजार क्षेत्र, भुटाहाको बजार क्षेत्र, कप्तानगञ्जको बजार क्षेत्र, घुस्कीको बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा अर्काे सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
हरिनगरा बजार क्षेत्रको पूर्वतर्फ नुनिया टोल, पश्चिम तर्फ खुनिया धार, उत्तर तर्फ हरिनगर गाउँपालिका कार्यालय र दक्षिण तर्फ बसन्तपुर मोडसम्म कर्फ्यु जारी भएको छ ।
भुटाहा बजार क्षेत्रको पूर्वतर्फ मोरिया धार खोला, पश्चिमतर्फ इदगाहा फिल्ड, उत्तरतर्फ सुनसरी खोला र दक्षिणतर्फ हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
कप्तनगञ्ज बजार क्षेत्रको पूर्वतर्फ यादव टोल, पश्चिमतर्फ पाँचौ सिमल मावि, उत्तरतर्फ कृष्ण मावि र दक्षिणतर्फ नेपाल– भारत सीमा क्षेत्रसम्म कर्फ्यु जारी भएको छ ।
घुस्की बजार क्षेत्रको पूर्वतर्फ कासमिया मदरसा, पश्चिमतर्फ प्रहरी चौकी घुस्की, उत्तरतर्फ इशा हार्डवेयर र दक्षिणतर्फ हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
देवानगञ्ज बजार क्षेत्रको पूर्वतर्फ विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिमतर्फ मोरीया खोला, उत्तरतर्फ चिउरा मिल र दक्षिणतर्फ गाउँपालिकाको कार्यालयसम्म कर्फ्यु आदेश जारी भएको छ ।
स्थानीय प्रशासनले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रभर निषेधाज्ञा जारी गरेको छ ।
प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।
८ जना प्रहरी पनि सामान्य घाइते भएको बताइएको छ ।