इनरुवाः सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपमा गोली लागेर १ जनाको मृत्यु भएको छ । उनी देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहता रहेको प्रहरीले जनाएको छ ।
गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा हिजो राति करिब ११ः२५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएका थिए । प्रहरीतर्फ ८ जना घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार राति ९ बजे युवाहरूको एक समूह डिजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै अवरोध गर्न खोजेपछि दुई पक्षबीच विवाद भएको र विवाद झडपमा परिणत भएको बताइएको छ ।
घाइतेहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम, नोबेल मेडिकल कलेज तथा अन्य अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये कोशी अस्पतालमा २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहताको उपचार भइरहेको छ । उनीहरूमध्ये अधिकांशको बाँया कोखा, काँध तथा हातमा चोट लागेको छ ।
विराट नर्सिङ होममा उपचाररत घाइतेहरूमा २० वर्षीय अमितकुमार यादव, २१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहता रहेका छन् । उनीहरुको तिघ्रा, घुँडा र कुहिनामा चोट लागेको छ ।
सो झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेर पाँच वटा टाँका लगाइएको छ । प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव सामान्य घाइते भएका छन् ।
प्रहरी घटनास्थल पुग्दासम्म अवस्था नियन्त्रणबाहिर पुगेको थियो भने स्थानीयका घर, मेडिकल, सवारीसाधन तथा अन्य संरचनामा तोडफोड र आगजनी तथा दुई पक्षबीच झडप भइरहेको स्थानीयले बताएका छन् ।
स्थिति नियन्त्रणबाहिर गएपछि सुनसरीको सदरमुकाम इनरुवामा जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसी अवस्था तत्काल नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली चलाउनुपरेको निष्कर्ष निकालेको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।