धरान । धरानस्थित पूर्वाञ्चल क्याम्पसमा शुक्रबारदेखि राष्ट्रिय प्राविधिक महोत्सव DELTA 5.0 शुरु भएको छ । Technology for Agriculture & Innovation विषयवस्तुमा आधारित महोत्सव पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभयो । हिजो शुक्रबारदेखि शुरु भएर भोलि आइतबारसम्म सञ्चालन हुने महोत्सवले विज्ञान र प्रविधिको प्रवर्धन तथा नवप्रवर्तनशील सोचलाई अघि बढाउने अपेक्षा लिइएको छ ।

महोत्सवमा गोकार्ट रेसिङ, रोबोटिक फाइट, रोबोटले मार्ग पत्ता लगाउने प्रतिस्पर्धा, सुधारिएको ग्रिनहाउस डिजाइन, कोड कम्पिटिसन, भवन निर्माण प्रतियोगिता, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स उपकरण निर्माण, र इञ्जिनियरिङ प्रोजेक्ट जस्ता विभिन्न विधाका गतिविधिहरू समावेश छन् ।

पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरू तथा प्रविधि क्षेत्रका विज्ञहरूको विशेष उपस्थितिमा सञ्चालित महोत्सवले प्रविधिको विकासमा टेवा पु¥याउने विश्वास लिइएको छ ।
कार्यक्रमले समुदायमा वैज्ञानिक सोच र प्रविधिप्रति रुचि अभिवृद्धि गराउने समेत आयोजकको अपेक्षा छ । विज्ञान तथा प्रविधिमा रुचि राख्ने सबैलाई महोत्सवमा सहभागी भई नवीनतम आविष्कार र प्रतिस्पर्धाको अनुभव लिन आयोजक समितिले अनुरोध गरेको छ ।