लेटाङ । लेटाङ नगरपालिकामा लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि युवाहरुले विशेष अभियान सुरु गरेका छन् । लागुऔषधको पूर्वप्रयोगकर्ता रहेका युवाहरुले नै अगुवाई गरि नगरमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न अभियान सुरु गरेका हुन् । उनीहरुले अभियान अन्तरगत फागुन १७ गते लेटाङ बजारमा सचेतनामुलक र्याली प्रदर्शन गरि अभियान सुरु गर्ने पनि जानकारी दिएका छन् ।
नगरमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न लेटाङ बजारक्षेत्रका युवाहरुको अगुवाइमा लेटाङ सचेत नागरिक समाज गठन गरेर अभियान सुरु गरिएको हो । समाजले सोमबार लेटाङ–४ स्थित मगर बौद्ध गुम्बा परिसरमा पत्रकार सम्मेलन गरि अभियान बारे जानकारी दिएको छ ।

नवगठित लेटाङ सचेत नागरिक समाजका अध्यक्ष भरतकुमार राई, सदस्य एकराज अधिकारी र सल्लाहकार भविन्द्रकुमार लिम्बूले लेटाङमा लागुऔषध दुर्व्यसन बढ्दो क्रममा रहेकाले नियन्त्रणका लागि अभियान सुरु गरिएको बताउनुभयो ।
समाजका अध्यक्ष भरतकुमार राईले लागुऔषध दुर्व्यसन नियन्त्रण नगरपालिका, प्रहरी वा कुनै एकव्यक्तिको प्रयासले मात्र संभव नहुने भएकाले वृहतरुपमा युवाहरुलाई भेला गरेर अभियान सुरु गरिएको जानकारी दिनुभयो । स्थानीयवासी अग्रसर नभएसम्म सरकारी निकाय वा प्रहरी प्रशासनको प्रयासले मात्र दुर्व्यसन नियन्त्रण नहुने भएकाले युवाहरु एकजुट भएर अघि बढेको उहाँको भनाइ छ ।
आफू स्वयम् पनि पूर्वलागुऔषध प्रयोगकर्ता रहेको भन्दै अध्यक्ष राईले कुनै व्यक्तिलाई लागुऔषध दुर्व्यसनबाट निस्कन समाजको सहयोग आवश्यक पर्ने भएकाले हातेमालो गरेर अघि बढ्न सबै नगरवासीलाई आग्रह गर्नुभयो । पछिल्लो पुस्ताले आफुले जस्तै लागुऔषध दुर्व्यसनमा लागेर नारकिय जीवन बिताउनु नपरोस् भनेर अभियान सुरु गरेको उहाँको भनाइ छ ।
लागुऔषध प्रयोगकर्ताहरुले आफु स्वयम्, आमाबुबा, घरपरिवार र समाजलाई नै हानी पुर्याइरहेको भन्दै उहाँले आफ्नो आमाबुबाले पाएको पीडाको चित्कारलाई बुझेर भएपनि लागुऔषध दुव्र्यसन त्याग्न कुलतमा फँसेका युवाहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष राईले लागुऔषध दुर्व्यसनकै कारण नगर क्षेत्रमा देहव्यापार समेत हुने गरेको सूचना आएकाले यौनजन्य अपराध नियन्त्रणलागि पनि अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै समाजका सदस्य एकराज अधिकारीले दीर्घकालिनरुपमा लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि काम गर्ने सोचका साथ सँस्था स्थापना गरिएको बताउनुभयो । उहाँले अभियान अन्तरगत पहिलो कार्यक्रमका रुपमा फागनु १७ गते सचेतना र्याली प्रदर्शन गर्न लागिएको जानकारी दिनुभयो ।
यस्तै समाजका सल्लाहकार भविन्द्रकुमार लिम्बूले लागुऔषध नियन्त्रण अभियान अन्तरगत गाउँटोलमा घरघर पुगेर लागुऔषध प्रयोगकर्ताको परिवासँग भेटेर सचेतना जगाउँदै दुर्व्यसन छुटाउन परामर्श प्रदान गर्ने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा सँस्थाका पदाधिकारीहरु, सदस्यहरु, पत्रकारहरु लगायत बाक्लो संख्यामा स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।
सल्लाहकार सुबन याख्खा हुनेपर्ने । भबिन्द्र कुमार लिम्बू भएछ।