लेटाङ । लेटाङ नगरपालिकाले टोलस्तरमा पुगेर जनताका गुनासा र समस्या बारे जानकारी लिने उद्देश्यले टोलवासीसँग जनप्रतिनिधि कार्यक्रम सुरु गरेको छ । खासगरि नगरका पहाडी वडाका टोल–टोलमा पुगेर जनताका गुनासा सुन्दै तिनको समाधानको प्रयास गर्ने उद्देश्यले नगरपालिकाले यसप्रकारको कार्यक्रम सञ्चालन गरेको हो ।
नगरको समथर क्षेत्रका स्थानीयवासीसँग अन्य समयमा पनि भेटघाट र अन्तरकृया हुने गरेपनि दुरदराजका वासिन्दाहरुको समस्या बारे थाहा पाउन घरदैलोमा जाने कार्यक्रम तय गरेको नगर प्रमुख भूपेन्द्र कुमार लावतीले जानकारी दिनुभयो । लेटाङ १ को आरुवोटे, कुवापानी, खरवानी, वडा नम्बर ७ को सीमाना र कुम्लेमा कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रमको सुरुमा नगरपालिका तथा वडा कार्यालयले प्रदान गर्दै आएका सेवा सुविधा बारे स्थनीयवासीलाई जानकारी गराउने गरिएको छ । नगरपालिकाले प्रदान गर्ने सेवा सुविधा बारे जानकारी गराएपछि टोलवासीलाई उनीहरुका समस्या के के छन् भनेर सोधिन्छ ।
लेटाङ ७ कुम्लेमा भेला भएका साविक वडा नम्बर ६ टोलका टोलवासीले मुख्य गरि पशुउपचार, खानेपानी, विद्युत र सडक गरि ४ वटा विषयलाई उठान गरेको वडा नम्बर ७ का वडाध्यक्ष खगेन्द्र लिम्बूले जानकारी दिनुभयो ।
यस क्षेत्रका अधिकांश मासिनहरुले वाख्रापालन गर्ने गरेकोमा समयमै उपचार नपाउँदा निकै ठूलो क्षति वेहोर्नु परेको र उपचार पाउँदा पनि निकै महंगो पर्ने गरेको स्थानीयवासीको गुनासो छ । स्थानीयस्तरमै पशुचिकित्सकको व्यवस्था गरिदिनुपर्ने उनीहरुको माग छ ।

यसैगरि टोलवासीको दोश्रो प्राथमिकताको विषय भने खानेपानी देखियो । कुम्ले भन्दा उत्तरतर्फ रहेको पित्लुम्वा गाउँ नजिकैबाट खानेपानी ल्याउने गरेकोमा त्यस क्षेत्रका केही व्यक्तिले अवरोध गरेकाले गाउँमा खानेपानीको समस्या भएको उनीहरुको भनाइ छ । उनीहरुले सो विवाद समाधान गरेर सहजरुपमा खानेपानीको व्यवस्था मिलाइ दिन आग्रह गरेका छन् ।
यसैगरि कुम्लेवासीको अर्को समस्या भनेको विद्युत रहेको छ । अधिकांश ठाउँमा विद्युतिकरण भएपनि टाढा–टाढा रहेका २÷४ घर मात्र भएका वस्तीमा विजुली पुग्न नसकेकाले विजुली पुर्याइदिन उनीहरुले माग गरेका छन् ।
यसैगरि स्थानीयवासीले वर्षायाममा सडक विग्रिंदा समस्या हुने गरेको भन्दै स्तरोन्नती गरिदिन माग गरेका छन् । पहिले भन्दा सहज भएपनि भरपर्दो समाधान नभएको उनीहरुको भनाइ छ । यस्तै कतिपय युवाले खेलकुदाका सामाग्री उपलब्ध गराइ दिन पनि माग गरेका छन् ।
यसअघि लेटाङ १ को आरुवोटे, कुवापानी, खरवानी लगायत वडा नम्बर ७ को सीमानामा यस प्रकारको कार्यक्रम गरिसकिएको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो । समग्रमा नगरको पहाडी वडाका वासिन्दाले पशुपालन, कृषि, विद्युतीकरण, खानेपानी र सडकसँग सम्वन्धित समस्या राखेको जानकारी दिनुभयो ।

नगरपालिकाका नगर प्रमुख र उपप्रमुखले यसरी गाउँमै आएर प्रत्यक्ष भेटघाट तथा भलाकुसारी गरि गुनासो सुनेकोमा खुशी लागेको टोल विकासका अध्यक्ष कृष्ण थलङले बताउनुभयो ।
नगर प्रमुख भूपेन्द्र कुमार लावतीले आगामी आर्थिक वर्षको बजेट निर्माणको चरणमा रहेकाले स्थानीयवासीले उठाएका विषयलाई बजेटमार्फत सम्बोधन गरेर अघि जाने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले खासगरि वाख्राको उपचारका लागि स्थानीय व्यक्तिलाई नै पशुउपचार तालिम दिएर सेवा दिने योजना रहेको बताउनु भएको छ ।
जनप्रतिनिधिहरुले आफूखुशी योजना छान्ने गरेको भनेर आलोचना भइरहेका बेला जनताका घरदैलोमा पुगेर उनीहरुका गुनाशा र समस्या सुनेर बजेट मार्फत सम्बोधन गर्ने लेटाङ नगरपालिकाको यो प्रयास निकै सह्रानिय देखिन्छ ।