लेटाङ । लेटाङ नगरपालिकाले अंशु गौतमको बलात्कार पछि हत्याको घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएकोमा जिल्ला प्रहरी कार्यालय मोरङलाई धन्यवादसहित सम्मान गरेको छ ।
नगरपालिकाले शुक्रबार विशेष कार्यक्रम गरि निकै गंभीर प्रकृतिको घटनामा सुरक्षा निकायले निकै मेहनत गरि संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएकोमा धन्यवाद ज्ञापन गर्दै सम्मानपत्र प्रदान गरि सम्मान गरेको हो ।
नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र प्रमुख प्रशासकीय अधिकृत शशि राईले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवालसहित प्रहरी निरीक्षक सरोज खनाल, इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर शाह र इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीलाई सम्मान गर्नुभयो ।

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले घटनाको सत्य तथ्य बाहिर ल्याएर अपराधि पक्राउ गर्न सुरक्षा निकायले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले घटनामा संलग्न पक्राउ नपर्दा पीडितले न्याय नपाउने तथा अपराधिको मनोवल समेत बढ्ने भएकाले प्रहरीले निकै मिहिन ढंगले अनुसन्धान गरेर दोषि पत्ता लगाएकोमा धन्यवाद दिनुभयो । उहाँले दोशी जो कोही भएपनि कानुनको दायरामा ल्याइ पीडतलाई न्याय दिलाउन नेपाल प्रहरी प्रतिवद्ध छ भन्ने सन्देश दिएको पनि बताउनुभयो ।
अंशु गौतमको परिवारलाई न्याय दिलाउने क्रममा नगरपालिकाले प्रहरी र परिवारजनसँग निरन्तर समन्वय र सम्पर्कमा रहेर पहलकदमी गर्दै आएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले मोरङ प्रहरीले अंशु गौतमको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरेर कठिन अवस्थामा समेत न्याय दिलाएको भन्दै धन्यवाद दिनुभयो ।
यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले अंशु गौतमकै प्रकृतिका अन्य घटनामा संलग्न पत्ता नलागिरहेको अवस्थामा अंशु गौतमको घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएकोमा मोरङ प्रहरीलाई धन्यवाद दिनुभयो ।

यस्तै अंशु गौतमका बाबु नवीन गौतमले पनि घटनामा संलग्न पक्राउ गरेकोमा प्रहरीलाई धन्यवाद दिंदै अनुसन्धानका क्रममा सहयोग गर्ने स्थानीयवासीप्रति पनि आभार प्रकट गर्नुभयो ।
नगरपालिकाले सम्मान गरेपश्चात आफ्नो भनाइ राख्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक कवित कटुवालले प्रहरी प्रधान कार्यालयको पनि गंभीर चासो रहेको यस घटनाको निकै मिहिन ढंगले अनुसन्धान गरेर दोशी पक्राउ गर्न सफल भएको बताउनुभयो ।
घटना भएको धेरै दिनपश्चात शव भेटिएको र कुनै सुराक समेत नभएको अवस्थामा नेपाल प्रहरी र सीआइवीको टोली समेत संलग्न भइ गहिरो अनुसन्धान गरि दोषिलाई पक्राउ गरेको उहाँले जानकारी दिनुभयो । उहाँले नागरिकको सुरक्षाका लागि प्रहरी सँधै तत्पर रहेको भन्दै समाजमा अपराध नियन्त्रण गर्न नागरिकले समेत प्रहरीलाई सहयोग गर्नुपर्ने बताउनुभयो । अंशुको हत्यामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सहयोग गरेकोमा उहाँले स्थानीयवासीलाई धन्यवाद पनि दिनुभयो ।
कार्यक्रममा बोल्दै उद्योग वणिज्य संघ लेटाङका अध्यक्ष खड्गबहादुर श्रेष्ठ, वसन्त हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष होमनाथ सुवेदी, नेपाली कम्युनिष्ट पार्टीकी प्रतिनिधि शान्ता राई र लेटाङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख खेमराज दुलालले घटनामा संलग्नलाई पक्राउ गर्न सफल भएकोमा मोरङ प्रहरीलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा सहभागिहरुले मृतक अंशु गौतमको आत्माको चीर शान्तिको कामना गर्दै मौन धारण गर्नुका साथै उनको तस्विरमा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

कार्यक्रममा लेटाङ नगरपालिकाका वडा नम्बर ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, लेटाङ ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसँस्थाका प्रतिनिधि, पत्रकारहरु लगातिको उपस्थिति रहेको थियो ।
गत असोज २१ गते दिउँसो लेटाङ २ फडानीस्थित घरबाटै हराएकी अंशु गौतमको शव कार्तीक ७ गते स्थानीय जंगलमा विभत्स अवस्थामा भेटिएको थियो । बेलबारी–चिसाङ साझेदारी वनभित्र शरीर र टाउको अलग गरिएको तथा कुहिएर दुर्गन्धित भएको अवस्थामा उनको शव फेला परेको थियो । शव पहिचान गर्नै नसकिने अवस्थामा रहेकाले घटनास्थलबाट फेला परेका चप्पल र कपडालगायतका आधारमा अभिभावकले सनाखत गरेका थिए ।
शव भेटिएपछि हत्यामा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले ३ सय जना स्थानीयसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परिक्षण गरेको थियो ।
प्रहरीले घटनामा संलग्न अंशुकै छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई मंसिर १८ गते पक्राउ गरि २१ गते पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको थियो । घटनामा संलग्न पक्राउ नपरेसम्म अन्तिम सँस्कार नगर्ने अडान लिएका परिवारजनले संलाग्न पक्राउ परेपछि स्थानीय चिसाङ खोलामा अन्त्येष्टि गरेका थिए ।

बहुचर्चित निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा झैँ अंशु गौतमको बालात्कारपछि हत्याको घटनामा संलग्न पनि पक्राउ नपर्ने होकी भन्ने चिन्ताका विच मोरङ प्रहरीले घटना भएको २ महिना भित्रमा संलग्नलाई पहिचान गरि पक्राउ गर्न सफल भएकोमा लेटाङ नगरपालिकाले विशेष कार्यक्रम आयोजना गरि मोरङ प्रहरीलाई धन्यवादसहित सम्मान व्यक्त गरेको हो ।