लेटाङ । लेटाङ ९ जाँतेमा २५६९ औँ वुद्ध जयन्ती भव्यताका साथ मनाइएको छ । लेटाङ ९ जाँतेस्थित शान्तिदीप वौद्ध विहारको आयोजनामा विविध साँस्कृतिक कार्यक्रम गरि मेला लगाएर भव्यतापूर्वक वुद्ध जयन्ती मनाइएको हो ।

शान्तिदीप वौद्ध विहार परिसरमा भएको कार्यक्रममा भगवान गौतम वुद्धको पूजाआरधना गर्नुका साथै विभिन्न जातजातिका साँस्कृतिक झाँकीहरु प्रदर्शन गरियो । सबै जाति र समुदायको सहभागितामा कार्यक्रम गरि साँस्कृतिक कार्यक्रममार्फत सामुदायिक एकता र भातृत्वको सन्देश दिइएको शान्तिदीप वौद्ध विहारका वौद्धगुरु दीपक पुलामी मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा मगर जातिको लोकप्रिय साँस्कृतिक नृत्य हुर्रा विशेष आकर्षणको रुपमा रहेको थियो । लेटाङका विभिन्न वडाबाट भेला भएका मगर समुदायले एकैसाथ हुर्रा नृत्य प्रस्तुत गर्दा कार्यक्रम निकै उल्लासमय बनेको थियो ।

कहाँको न तिमि हो, कहाँको हामी । भेट भयो हुर्रामा, देशै रमाइलो ।। लसमा न लस है मसला पिस्नु । लोहोरी भए पो देशै रमाइलो । जस्ता भाका हालेर गीत गाउँदै युवायुवतीहरुले मादलको तालमा ताल मिलाएर हुर्रा नाचेका थिए ।
यसैगरि किराँत राई जातिको साकेल नृत्यले पनि कार्यक्रमलाई थप रोमाञ्चकता प्रदान गर्यो । हातमा चमर र सिमाली सेउली बोकेर, ढोल–झ्याम्टा बजाउँदै किराँती पोशाकमा सजिएका युवायुवतीहरुले विभिन्न हाउभाउ गर्दै साकेला सिली प्रस्तुत गरेर कार्यक्रमलाई निकै रोचक बनाएका थिए ।

मुटु नै छुने गरि बजाइएको ढोल–झ्याम्टा अनि सोइ ढोले सोई, अर्को ढोले खोई ? भन्दै नाचिएको उर्जाशील नृत्य हेरिरहँदा जो कोहीको मन पनि रोमाञ्चक बन्न पुग्थ्यो ।
कार्यक्रममा क्षत्री, व्राह्मण लगायतका हिन्दुधर्मावलमीहरुले पनि भजन प्रस्तुत गर्दै आफ्नो सहभागीता जनाएका थिए । राधाकृष्ण किर्तन मण्डालीको प्रतिनिधित्व गर्दै सहभागी भएका उनीहरुले भगवान गौतम वुद्धको भजन गाउँदै नाचेर कार्यक्रमलाई विविधता प्रदान गरेका थिए ।

कार्यक्रमलाई सहभागितामुलक बनाउने क्रममा लिम्बु जातिको धान नाच पनि प्रस्तुत गरियो । किराँत हाङसाम थेवा माङहिमको प्रतिनिधित्व गर्दै सहभागी भएका लिम्बू समुदायका मानिसहरुले च्याब्रुङ बजाउँदै आफ्नो सुन्दर साँस्कृति नृत्य केलाङ प्रस्तुत गरे ।
यसैगरि तामाङ समुदायले पनि आफ्नो पहिचान झल्कने डम्फु बजाएर तामाङ सेलो गाउँदै कार्यक्रममा रौनकता थपेका थिए भने स्थानीय कलकारहरुले नृत्य तथा गायन प्रस्तुत गर्दै मनोरञ्जन प्रदान गरेका थिए ।

लेटाङ ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लेटाङ १ का वडाध्यक्ष विष्णु मगर, लेटाङ ९ का वडासदस्यहरु, विभिन्न जातिय संघसँस्थाका प्रतिनिधिहरु, सामाजिक संघसँस्थाका प्रतिनिधिहरु, सामाजिक अगुवाहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै लेटाङ ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाले वुद्धको ज्ञानलाई जीवनमा अनुशरण गर्न सके मानव जीवन सार्थक हुने बताउनुभयो ।
वुद्धिमान मास्की मगरले औपचारिक कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने उपाध्यक्ष भूमिका मास्की मगरले स्वागत मन्तव्य राख्नु भएको थियो । सो अवसरमा शान्तिदीप वौद्ध विहार परिसरमा मेला समेत लागेको थियो । मेला भर्न जाँतेसहित, लेटाङ, खेरुवा, फाडनी र पथरीशनिश्चरेसम्मका मानिसहरु आएका थिए ।