लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत आज आइतबारका खेल सम्पन्न भएसँगै फुटबलतर्फ र महिला पुरुष दुवैतर्फको भलिवलका खेलमा सेमीफाइनलमा पुग्ने टोलीको छिनोफानो भएको छ ।
फुटबलतर्फ वडा नम्बर २, ३, ६ र ८ सेमीफाइनलमा पुगेका छन् । पुरुष भलिवल तर्फ १, ६, ७ र ८ सेमीफाइनलमा पुग्दा महिला भलिवलमा भने ७, ५, ३ र ९ सेमीफाइनलमा स्थान बनाएका छन् । यसैगरि आज आइतबार चेसतर्फको सबै खेल सम्पन्न हुँदा क्रिकेटतर्फ २ खेल भएका छन् ।

पुरुष फुटबलतर्फ २, ३, ६ र ८ सेमीफाइनलमा
लेटाङ खेलकुद महोत्सव अन्तरगत पुरुष फुटबलको सेमीफाइनल समिकरण पुरा भएको छ । आज भएको खेलमा वडा नम्बर ६ र ८ विजयी भएसँगै सेमीफाइनल खेल्ने ४ टोलीको टुंगो लागेको हो । यसअघि हिजो शनिबार भएको खेलमा विजयी हुँदै वडा नम्बर २ र ३ सेमीफाइनलमा पुगिसकेका छन् ।
आज भएको पहिलो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ४ लाई १–० गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको हो । यसैगरि दोश्रो खेलमा वडा नम्बर ८ ले वडा नम्बर १ लाई ट्राइबेकरमा पराजित गर्दै सेमीफाइनल भिडन्त पक्क गरेको हो । निर्धारित समयको खेलमा १–१ गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
अब भोलि सोमबार दिउँसो १ बजे हुने पहिलो सेमीफाइनल खेलमा वडा नम्बर २ र वडा नम्बर ६ बीच प्रतिस्पर्धा हुनेछ भने ३ बजे हुने दोश्रो सेमीफाइनलमा वडा नम्बर ३ र वडा नम्बर ८ भिड्नेछन् ।

पुरुष भलिवलतर्फ १, ६, ७ र ८ सेमीफाइनलमा
लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत आज आइतबार पुरुष भलिवलतर्फ २ वटा खेल सम्पन्न भएसँगै सेमीफाइनल समीकरण पुरा भएको छ । पुरुष भलिवलतर्फ आज २ खेल सम्पन्न भएसँगै सेमीफाइनलमा १, ६, ७ र ८ बीच प्रतिस्पर्धा हुने टुंगो लागेको हो ।
आज भएको पहिलो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ९ लाई ३–२ को सेटमा पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गरेको हो । यसैगरि दोश्रो खेलमा वडा नम्बर १ ले वडा नम्बर ५ लाई ३–० को सोझो सेटमा पराजित गरि सेमीफाइनलको यात्रा तय गर्यो । वडा नम्बर ७ हिजोको खेलमा वडा नम्बर ३ लाई र वडा नम्बर ८, वडा नम्बर २ लाई पराजित गर्दै सेमीफाइनलमा पुगिसकेका छन् ।
अब भोलि सोमबार विहान ८ बजे हुने पहिलो सेमीफाइनलमा वडा नम्बर ७ र वडा नम्बर ६ बीच प्रतिस्पर्धा हुनेछ भने ११ बजे हुने दोश्रो सेमीफाइनलमा वडा नम्बर ८ र वडा नम्बर १ प्रतिस्पर्धा गर्नेछन् ।

महिला भलिवलतर्फ ७, ५, ३ र ९ सेमीफाइनलमा
लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत आज आइतबार महिला भलिवलतर्फ ३ खेल सम्पन्न भएका छन् । आजका खेल सम्पन्न भएसँगै महिला भलिवलतर्फको सेमीफाइनल समिकरण पुरा भएको छ । वडा नम्बर ७, ५, ३ र ९ ले सेमीफाइनलमा स्थान बनाएका छन् ।
आज आइतबार सम्पन्न पहिलो खेलमा वडा नम्बर ७ ले वडा नम्बर ६ लाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा स्थान बनाएको हो । यस्तै दोश्रो खेल वडा नम्बर ५ ले वडा नम्बर ४ लाई ३–० को सोझो सेटमा नै पराजित गर्दै सेमीफाइनलमा पुगेको छ । यसैगरि तेश्रो खेलमा वडा नम्बर ३ ले वडा नम्बर २ लाई ३–० कै सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा स्थान पक्का गर्यो ।

वडा नम्बर ९ भने हिजो शनिबार भएको खेलमा वडा नम्बर १ लाई पराजित गर्दै सेमीफाइनलमा पुगेको थियो । हिजोको खेलमा वडा नम्बर ८ लाई पराजित गरेको वडा नम्बर ३ ले भने १ खेल बढी खेल्दै आज वडा नम्बर २ लाई पनि पराजित गरेपछि मात्र सेमीफाइनलमा स्थान बनाएको हो ।
सोमबार बिहान ८ बजे हुने पहिलो सेमीफाइनलमा वडा नम्बर ३ र वडा नम्बर ७ प्रतिस्पर्धा गर्दैछन् भने भोलि नै विहान ११ बजे हुने दोश्रो सेमीफाइनलमा वडा नम्बर ९ ले वडा नम्बर ५ को समाना गर्दैछ ।

क्रिकेटतर्फ लेटाङ अस्पताल र राजारानी विजयी
लेटाङ खेलकुद महोत्सव अन्तरगत क्रिकेटतर्फ आज २ वटा खेल सम्पन्न भएका छन् । लेटाङ ५ स्थित बुद्ध रंगशालमा भएको पहिलो खेलमा लेटाङ अस्पतालले बीके मेमोरियल क्लवलाई ९ विकेटले पराजित गरेको छ ।
सुरुमा व्याटिङ गरेको विकेले १४ ओभरमा अलआउट हुँदै ६२ रन मात्र जोड्न सफल भयो । ६३ रनको लक्ष्यका साथ जवाफी व्याटिङमा उत्रिएको लेटाङ अस्पतालले वीके मेमेरियलका विरुद्ध ९ विकेटको सहज जित हात परेको हो । उसले ९ दशमलव १ ओभरमा १ विकेटको मात्र क्षतिमा निर्धारित लक्ष्य पुरा गरेको हो ।

यसैगरि आजै भएको दोश्रो खेलमा राजारानी क्रिकेट क्लवले किर्तिमानलाई पराजित गर्दै सेमीफाइनलमा पुगेको छ । सुरुमा ब्याटिङ गरेको राजारानीले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ४५ रन जोडेको थियो ।
१ सय ४६ रनको लक्ष्य सहित जवाफी व्याटिङमा उत्रिएको किर्तिमानले पुरा २० ओभरमा खेल्दै अलआउट समेत भइ १ सय १४ रन मात्र जोड्न सक्यो । कीर्तिमानमाथि जित हात पारेको राजारानी सिधै फाइनलमा पुगेको छ भने पहिलो खेलमा विजयी भएको लेटाङ अस्पतालले भने भोलि विहान हुने खेलमा चिसाङ वारियर्सको सामना गर्नुपर्नेछ । लेटाङ खेलकुद महोत्सव अन्तरगत क्रिकेट प्रतियोगितामा ५ वटा टीम सहभागी भएका छन् ।

लेटाङ खेलकुद महोत्सवमा चेसतर्फ जाँतेका युनिक गौतम च्याम्पियन
लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत आज आइतबार चेस प्रतियोगिता सम्पन्न भएको छ । लेटाङ–४ स्थित कवर्डहलमा भएको प्रतियोगितामा लेटाङ ८ जाँतेका युनिक गौतम च्याम्पियन बनेका छन् । चेस खेलका लागि जम्मा ३२ जना खेलाडीले नाम दर्ता गरेकामा प्रतियोगितामा सहभागी भएका ३० जनालाई पछि पार्दै युनिक गौतम च्याम्पियन बन्न सफल भएका हुन् ।
फाइनल खेलमा लेटाङ ४ का चन्द्रकान्त तामाङलाई २–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेका गौतमले ट्रफिसहित ८ हजार पुरस्कार पाउनेछन् । फाइनलमा पराजित भएर दोश्रो भएका लेटाङ ४ का चन्द्रकान्त तामाङले ५ हजार पुरस्कार पाउनेछन् । यस्तै लेटाङ ५ का भक्तबहादुर खड्का तेश्रो भएका छन् ।
तेश्रो स्थानका लागि भएको खेलमा लेटाङ ९ का शिवकुमार लिम्बूलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी भएका खड्काले नगद ३ हजार पुरस्कार पाउनेछन् । नगर स्तरीय खेलमा च्याम्पियन बनेका युनिक गौतम यसअघि लेटाङ जेसीजले आयोजना गरेको चेस प्रतियोगितामा पनि च्याम्पियन बन्न सफल भएका थिए ।
चेस खेलका लागि जम्मा ३२ जना खेलाडीले नाम दर्ता गरेकामा २ जना अनुपस्थित भएपछि ३० जनाबीच प्रतिस्पर्धा भएको चेस प्रतियोगिताका संयोजक राजु गौतमले जानकारी दिनुभयो । विजेताहरुलाई फागुन ७ गते हुने खेलकुद महोत्सवको समापनमा पुरस्कार तथा ट्रफि प्रदान गरिने छ ।

