लेटाङ । लेटाङ एडभान्स हस्पिटलले चौथो वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ । हस्पिटलले सामाजिक उत्तदायित्व निर्वाह गर्दै लेटाङ ४ स्थित हस्पिटल परिसरमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा २ सय ९२ जनाले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन् ।
हस्पिटलका अनुसार शिविरमा एक्स–रे, ल्याब परीक्षण, आँखा जाँच, हाडजोर्नी, बालरोग तथा सुगर–प्रेसर सम्बन्धी सेवा प्रदान गरिएको हो । सेवा लिनेहरूमध्ये एक्स–रे ५३ जना, ल्याब १ सय ३ जना, आँखा जाँच ९७ जना, हाडजोर्नीका ६३ जना, बालरोग २२ जना तथा सुगर–प्रेसर परीक्षण सेवा लिने १ सय १० जना रहेका छन् ।
वार्षिकोत्सवमै अवसरमा हस्पिटलले १० जना जेष्ठ नागरिकलाई विशेष सम्मान गर्दै एक वर्षसम्म आवश्यक पर्दा निःशुल्क स्वास्थ्य परिक्षण गर्ने जनाएको छ ।

कार्यक्रममा बोल्दै हस्पिटलका सञ्चालक ईश्वर शाक्यले सम्मानित जेष्ठ नागरिकहरूलाई एक वर्षसम्म आवश्यक पर्दा निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने जानकारी दिनुभयो ।
उहाँले सामाजिक उत्तरदायित्वलाई संस्थागत अभ्यासका रूपमा अघि बढाउँदै निःशुल्क स्वास्थ्य शिविर तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम गरिएको पनि जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरबाट जेष्ठ नागरिक, बालबालिका तथा आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई स्वास्थ्य अवस्थाबारे समयमै जानकारी लिन सहज भएको हस्पिटलको भनाइ छ ।

समाजप्रति उत्तरदायी सेवामा केन्द्रित रहँदै आएको लेटाङ एडभान्स हस्पिटलले आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य शिविर तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । हस्पिटलले यसअघि पनि नगरका विभिन्न विकट पहाडी टोल बस्तीमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
वार्षिकोत्सव समारोहमा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ लगायत समाजका विशिष्ट व्यक्तित्वहरुको उस्थिति रहेको थियो ।