लेटाङ । नेकपा एमाले लेटाङ नगर कमिटीको दोश्रो नगर अधिवेशन भदौ ६ गते हुने भएको छ । जिल्लाका सबै पालिकाको अधिवेशन सम्पन्न भइसक्दा समेत लेटाङ नगर कमिटीको अधिवेशन गर्ने विषयमा विवाद भएपछि जिल्ला कमिटी मोरङले अधिवेशनको मिति तय गर्नुका साथै अध्यक्ष मण्डल, निर्वाचन समिति र निर्वाचन कार्यतालिका समेत तय गरेको हो ।
सुन्दरहरैँचामा बसेको दोश्रो पूर्ण वैठकले प्रतिनिधि छनौट मिति, विधि, प्रतिनिधि संख्या लगायतका मापदण्ड समेत उल्लेख गर्दै लेटाङ नगर कमिटीलाई सर्कुलर गरेको हो । जस अनुशार भाद्र २ गते सबै वडामा एकैपटक नगर अधिवेशनका लागि प्रतिनिधि चयन हुनेछन् ।
४ जना पार्टी सदस्य बराबर १ जना प्रतिनिधि हुने छन् भने दलित समुदायको पार्टी सदस्य संख्याको आधारमा नगर स्तरबाट प्रतिनिधि छानिनेछन् । कार्यवाहक अध्यक्ष बालकुमार श्रेष्ठका अनुशार प्रतिनिधि छनौट गर्दा ३३ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवा रहनुपर्ने व्यवस्थालाई ध्यान दिइनेछ ।
यस्तै पालिका कमिटी सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको १ वर्ष पुरा गरेको वा वडा कमिटी सदस्य वा टोल कमिटी पदाधिकारी भइ एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । २०८१ सालको पार्टीसदस्यता नविकरण भइ आएकाले मात्र चुन्न चुनिन पाउने सर्कुलरमा उल्लेख गरिएको छ ।
अधिवेशनले ७५ सदस्यीय नगर कमिटी निर्वाचित गर्नेछ भने ५ सदस्यीय लेखा कमिटी निर्माण गरिनेछ । पदाधिकारीमा कम्तिमा १ जना महिला अनवार्य गरिएको छ ।
लेटाङको नगर कमिटी अधिवेशन सम्पन्न गर्न जिल्ला कमिटी सचिव सोमराज थापाको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरिएको छ । जसमा जिल्ला कमिटी सदस्य अग्नी भट्टराईसहित लेटाङबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने कृष्णकुमारी निरौला, मेनुका आचार्य सुवेदी, चम्पा थापामगर, केशवकुमारी खतिवडा, भूम सूर्यमगर, खेमनाथ ढकाल, रुद्र श्रेष्ठ, रामकुमार श्रेष्ठ र डम्बर राई सदस्य छन् ।
यस्तै वरिष्ठ अधिवक्ता गणेशराज लुइँटेलको अध्यक्षतामा निर्माण गरिएको ३ सदस्यीय निर्वाचन मण्डलमा अधिवक्ता खेमराज पोखरेल र जिल्ला कमिटी सचिवालय सदस्य योगेद्र सुवेदी सदस्य छन् ।
नेकपा एमाले लेटाङका तत्कालिन नगर कमिटी अध्यक्ष कृष्णप्रसाद लुइँटेल अमेरिका प्रस्थान गरेपछि उपाध्यक्ष बालकुमार श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकिएको थियो । जिल्लाका अन्य पालिका कमिटीको अधिवेशन सम्पन्न भइसक्दा समेत लेटाङको अधिवेशन नभएपछि अधिवेशन कहिले गर्ने र कुन विधिमा गर्ने भन्ने विषयमा विवाद हुँदै आएको थियो ।
खासगरि पार्टी केन्द्रमा देखिएको सँस्थापन पक्ष र विद्या भण्डारी पक्षको गुटगत छायाँ लेटाङसम्म आइपुग्दा अधिवेशन गर्ने विषयमा नै विवाद भएपछि जिल्ला कमिटी मोरङले प्रतिनिधि छनौट मिति, विधि, प्रतिनिधि संख्या लगायतका मापदण्ड समेत उल्लेख गर्दै लेटाङ नगर कमिटीलाई सर्कुलर गरि पठाएको हो ।
को को कता कता ?
कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको गृहनगर समेत रहेको लेटाङमा संस्थापन पक्ष र विद्या भण्डारी दुवै पक्षको उपस्थिति देखिन्छ । पार्टी केन्द्रमा देखिएको गुटगत अवस्था झैँ नेकपा एमाले लेटाङमा पनि आम कार्यकर्ताले बुझिने गरि स्पष्ट गुट देखिएको छ । कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा सहित प्रदेश कमिटी सदस्य दिपेश राई, लेटाङ १ का वडाध्यक्ष विष्णुकुमार मगर, लेटाङ ३ का वडाध्यक्ष डम्बर राई लगायत संस्थापन पक्षमा खुलेका छन् ।
यस्तै लेटाङ नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, लेटाङ २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना, लेटाङ ५ का वडाध्यक्ष भूम सूर्यमगर र लेटाङ ७ का वडाध्यक्ष खगेन्द्र लिम्बू लगायत विद्या भण्डारी पक्षामा खुलेका छन् ।
यता नगर कमिटीका कार्यवाहक अध्यक्ष बालकुमार श्रेष्ठ, सचिव जीतबहादुर लामा लगायत नगर कमिटीको बहुसंख्यक आफ्नो पक्षमा रहेको भण्डारी पक्षको बुझाइ छ ।
लेटाङ ४ का वडाध्यक्ष रामकुमार श्रेष्ठलाई पनि संस्थापन पक्षकै भनिएपनि उनले आफू गुटगत खेलमा नलाग्ने बताउँदै आएका छन् ।
यी हुन् अध्यक्षका संभावित उम्मेदवार
लेटाङ नगर कमिटीको अध्यक्षका लागि आकांक्षीहरुको नाम बारे पनि चर्चा सुरु भएको छ । संस्थापन पक्षबाट लेटाङ २ का खगेन्द्रराज भण्डारी र भण्डारी पक्षबाट लेटाङ ६ का नन्दलाल धिमालको नाम मुख्यगरि चर्चामा छ । दुवैजना पूर्व जिल्ला कमिटी सदस्य हुन् । यसबाहेक लेटाङ ५ का जीतबहादुर लामा र लेटाङ २ का हेरम्बराज भट्टराईको पनि चर्चा सुनिन्छ खासगरि प्रतिनिधि छनौट पश्चात मात्र उम्मेदवारको टुंगो लाग्ने तथा स्पष्ट चित्र देखिने एक नेताले बताए ।
सहमतिको संभावना के छ ?
लेटाङमा चुनाव नभइ सहमतिमै नेतृत्व चयन गर्ने संभावना समेत रहेको एक नेता बताउँछन् । तर लेटाङमा एमालेको २ पक्षका अगुवा नेताहरु कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा र कोशी प्रदेश कमिटी सचिवालय सदस्य समेत रहेका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले चासो दिनुपर्ने उनको भनाइ छ । नेताहरुले मिसन ८४ भनिरहँदा गुटगत रुपमा प्यानल नै बनाएर चुनाव गर्नु भन्दा अलिकति प्रयास गर्ने हो भने सहमतिमा नेतृत्व चयन हुने अवस्था रहेको ती नेताको भनाइ छ ।
लेटाङमा यो पक्षले जित्छ भनेर यसै भन्न सकिने अवस्था नरहेकाले दुवै पक्षको अध्यक्षका दावेदारहरुमा भरसक सहमतिमै जान पाए हुन्थ्यो भन्ने आशय देखिएको ती नेता बताउँछन् । तसर्थ अध्यक्षका उम्मेदवारको चाहना भन्दा पनि नेताहरुको इगोका कारण कार्यकर्ताहरु बाध्य भएर गुटगतरुपमा बाँडिनुपर्ने अवस्था आएको उनी बताउँछन् । यस्तो प्रतिस्पर्धाले अन्तत आसन्न निर्वाचनसम्म असर पार्ने देखिएकाले सहमतिमै जोड दिनुपर्ने उनको बुझाइ छ ।