लेटाङ । लेटाङमा रहेका सामुदायिक वनमा देखिएका समस्या र तिनको समाधानका विषयमा सरोकारवालाहरुबीच वृहतरुपमा छलफल गरिएको छ । लेटाङ नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक वन उपभोक्ता महासंघ लेटाङको आयोजनामा सामुदायिक वन सञ्चालन सम्बन्धि अभिमुखिकरण कार्यक्रम आयोजना गरि सामुदायिक वनमा देखिएका समस्या बारे छलफल गरि समाधानका उपाय खोजिएको हो ।
फागुन १६ गतेदेखि २० गतेसम्म सञ्चालन भएको अभिमुखिकरण कार्यक्रममा लेटाङ नगरपालिकामा रहेका सामुदायिक वन उपभोक्ता समितिबाट करिव ९० जनाले सहभागिता जनाएका छन् । नगरको चूरे क्षेत्रका १९ वटा सामुदायिक वन, नगरको मैदान क्षेत्रका ११ वटा सामुदायिक वन र ५ वटा धार्मिक वनका प्रतिनिधिहरुलाई वन व्यवस्थापन, सामुदायिक वनमा देखापरेका समस्या, सामुदायिक वनमा पर्यटन प्रवर्धन, वनसम्वन्धि नीति नियम र कानुनी विषयमा जानकारी गराइएको सामुदायिक वन उपभोक्ता महासंघ लेटाङका अध्यक्ष आनन्दसागर तिम्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रममा सुरुका २ दिन चुरे क्षेत्रका १९ वटा सामुदायिक वनका प्रतिनिधिहरुलाई मात्र राखेर आन्तरिक लेखा, वैठक व्यवस्थापन, माइन्यूट लेखन, कार्यालय व्यवस्थापन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेशका अध्यक्ष तुलशी संग्रौला, सवडिभिजन वन कार्यालय लेटाङका प्रमुख सत्यनाराण झा, लेखा विज्ञ सन्तोष शर्मा, सामाजिक अभियन्ता विनोद विक र सामुदायि वन उपभोक्ता महासंघ लेटाङका अध्यक्ष आनन्द सागर तिम्सिना लगायतले सहभागिहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिनुभयो ।

फागुन १६ गदेखि सुरु भएको कार्यक्रमको फागुन २० गते मंगलबार समापन गरिएको छ । सामुदायिक वन महासंघ लेटाङका अध्यक्ष आनन्दसागर तिम्सिनाको अध्यक्षतमा भएको कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख लावतीले नगरपालिकाले सामुदायिक वन संरक्षण र पानीका मुहान संरक्षणको क्षेत्रका काम गर्दै आएको जानकारी दिनुभयो । उहाँले संघीय सरकार र प्रदेश सरकारको वन सम्बन्धि ऐनमा एकरुपता नहुँदा सामुदायिक वनले उठाएका कतिपय विषयलाई सम्बोधन गर्न स्थानीय तहलाई समस्या भएको बताउनुभयो ।
कार्यक्रममा सहभागी विभिन्न सामुदायिक वनका प्रतिनिधिहरुले आ–आफ्ना समस्या बारेमा जिज्ञाशा राखेका थिए । महाभारत सामुदायिक वनका अध्यक्ष यज्ञ खजुमले चुरे क्षेत्रका वनका समस्या, कमलपुर सामुदायिक वनका अध्यक्ष गोपाल श्रेष्ठले मैदान क्षेत्रका वनका समस्या, हरिप्रसाद धिमालले धार्मिक वनका समस्या र राजेन्द्र योञ्जनले टुक्रे वन व्यवस्थापन बारे जिज्ञाशा राख्नुभएको थियो । सामुदायिक वनका प्रतिनिधिहरुले राखेको जिज्ञाशाको विषयमा डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाले जवाफ दिनु भएको थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ लेटाङका अध्यक्ष आनन्द सागर तिम्सिनाको अध्यक्षतामा भएको समापन कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो भने सामुदायिक वन उपभोक्ता महासंघ नेपालका उपमहासचिव सीता श्रेष्ठ, सामुदायिक वन उपभोक्ता महासंघ कोशी प्रदेश अध्यक्ष तुलसी संग्रौला, डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापा, सामुदायिक वन उपभोक्ता महासंघ मोरङका कार्यवाहक अध्यक्ष मदन पोखरेल लगायतको आतिथ्यता रहेको थियो ।
यसैबीच सोही अवसरमा सामुदायिक वन महासंघ लेटाङको परिषद् वैठक पनि सम्पन्न गरिएको छ । वैठकमा परिषद् अध्यक्ष आनन्दसागर तिम्सिनाले हालसम्म सञ्चालन गरेका गतिविधि र आगमी ३ वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष तिम्सिनाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम सर्वसहमतिमा परित गरिएको थियो ।