विराटचोकः यही साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘हली’ को प्रचारप्रसार अभियान अन्तर्गत मोरङको सुन्दरहरैँचा–९, विराटचोकस्थित जेसीज भवनमा हिजो एक भव्य कार्यक्रमबीच चलचित्रको प्रचारप्रसार गरिएको छ ।
सुदूर पश्चिममा रहेका छाउपडी प्रथामा आधारित सो चलचित्रले देशमा परिवर्तन ल्याउन एउटा हली नै काफी हुन सक्ने सन्देश छोडेको निर्माता जस्मिन श्रेष्ठले बताउनुभयो । जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको संयुक्त आयोजनामा सोमबार झापा र मोरङमा प्रचार कार्यक्रम गरिएको थियो । विराटचोकका स्थानीयले स्वतःस्फूर्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।
विराटचोकस्थित इन्द्रपुर जेसीजको सभाहलमा आयोजित कार्यक्रममा कलाकार, स्थानीय जनप्रतिनिधि तथा चलचित्रप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उपस्थित विराटचोकवासी कलाकारसँगै चलचित्रको मुख्य गीत ‘चानस पाए डानस गर्ने हो’ बोलको गीतमा नाचेका थिए ।
कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेता सरोज खनाल ले ‘हली’ नेपाली गाउँघरको परिवेशमा आधारित मौलिक चलचित्र भएको उल्लेख गर्दै दर्शकको माया पाएर फिल्म १०० दिनसम्म प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो ।
निर्माता जस्मिन श्रेष्ठले चलचित्रले महिलामाथि हुने विभेदको विरुद्धमा आवाज उठाएको बताउनुभयो । समाज परिवर्तनको लागि भाषण मात्रै होइन एउटा हलीको अठोट र साहस पनि काफी हुन सक्छ भन्ने सन्देश पनि चलचित्रले दिने उहाँले बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैँचा–९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले कलाकार राष्ट्रको गहना भएकाले उनीहरूको सम्मान र संरक्षण सबैको दायित्व भएको बताउनुभयो ।
कार्यक्रमकी सभाध्यक्ष सीता चापागाईँ कटुवालले हामी सबै हलीका सन्तान भएको बताउनुभयो । हाम्रा बुबा, दाजुहरू हली भएर नै आज हामी यो अवस्थामा आइसकेको र चलचित्रले सोही कथा बोकेको हुँदा चलचित्र सफल हुने बताउनुभयो ।
कार्यक्रममा विष्णु खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो । राकेश कमेडीले हास्य प्रस्तुति प्रस्तुत गर्नुभएको कार्यक्रममा सिरिसा परीले नृत्य प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी खेमचन्द्र अधिकारीले गर्नुभएको थियो ।
ओम प्रतीकको लेखन तथा निर्देशन रहेको फिल्म ‘हली’ मा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीकको अभिनय रहेको छ । पूजा गुरुङ र जस्मिन श्रेष्ठले चलचित्रमा लगानी गर्नुभएको छ ।
काठमाडौंमा एक चरणको प्रचार सकेर पूर्व आएको कलाकारसहितको हलीको टिमले हिजो बिहान झापाको झिलझिले र गोलधापमा कार्यक्रम गरेपछि दिउँसो विराटचोकमा कार्यक्रम गरेको थियो ।