- शिवशंकर परिहस्त
हरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले १२ दम्पतिलाई उत्कृष्ट दम्पतिको रुपमा सम्मान गरेको छ । नगरपालिकाको पूर्वघोषित कार्यक्रम अन्तरगत नगरका १२ वटै वडाबाट एक–एक जोडी छनोट गरी १२ दम्पतिलाई सम्मान गरिएको हो । उत्कृष्ट दम्पतिका लागि आवेदन माग गर्दा जम्मा ४८ वटा आवेदन परेकोमा १२ जोडिलाई उत्कृष्ट जोडिको रुपमा छनौट गरि सम्मान गरिएको हो ।
दम्पतिबीच मेलमिलाप भएका, आमाबुबासहित संयुक्त परिवरमा बसोबास गरेका लगायतका सर्तहरुमा रहेर उत्कृष्ट दम्पति सम्मानका लागि आवेदन माग गरेपश्चात छनौट भएका १२ जोडीलाई नगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो ।
नगरपालिकाको न्यायिक समितिको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी, प्रमुख प्रशासकिय अधिकृत विनोद न्यौपाने, न्यायिक समिति सदस्य कैलाश वस्नेत, रोशननाथ उप्रेती लगायतले १२ दम्पति जोडिलाई सम्मान गर्नुभयो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा उत्कृष्ट दम्पतिहरुलाई पञ्चेवाचा बजाउँदै दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरि माला–टीका लगाएर नगद १० हजार सहित सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख केदाप्रसाद गुरागाईँले न्यायिक समितिको तथ्यांक अनशुार नगरमा पछिल्लो समय श्रीमान श्रीमती विचको विवादका घटना बढ्दै गएकाले उत्कृष्ट दम्पति सम्मान कार्यक्रम राखेर मेलमिलापका लागि प्रेरणा प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रममा सम्मानित जोडीहरूमा सुन्दरहरैँचा–१ का केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, सुन्दरहरैँचा–२ का सचितानन्द साह (हलुवाई) र संगीताकुमारी गुप्ता हलुवाई सुन्दरहरैँचा–३ का धुब निरौला र अनु दाहाल, सुन्दरहरैँचा–४ का लिलाप्रसाद सिग्देल र अप्सरा सिग्देल सुन्दरहरैँचा–५ का बिरेन्द्रकुमार कट्टेल र सितादेवि कट्टेल, सुन्दरहरैँचा–६ का बाल्कृस्न घिमिरे र शकुन्तला गौतम घिमिरे, सुन्दरहरैँचा–७ का बलिराम चौधरी र फूलोदेवी चौधरी, सुन्दरहरैँचा–८ का खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने, सुन्दरहरैँचा–९ योगराज कार्की र हिमकुमारी कार्की, सुन्दरहरैँचा–१० का बौद्धबहादुर दाहाल र कल्याणी खड्का दाहाल. सुन्दरहरैँचा–११ का बेद्कुमार खवास र केसरीवती खवास, सुन्दरहरैँचा–१२ का अमरबहादुर मगर र ताराकुमारी मगर रहेका छन् ।

सम्मानका लागि व्यक्तिगत घटनादर्ता छुटाएको नहुने, विवाह गरेको निश्चत समय पुरा भएको, संयुक्त परिवारमा बसेको गरेको, श्रीमान श्रीमतीमा झगडा नभएको लगायतका मापदण्ड तोकिएको थियो । नगरपालिकाले यस कार्यक्रमलाई यसअघि ढुकुर जोडी सम्मान कार्यक्रम भनेर घोषणा गरेपश्चात देशव्यापि रुपमा चर्चाको विषय बनेको थियो ।
कतिपयले कार्यक्रमको विरोध गरेका थिए भने अधिकांशले उत्कृष्ट कार्य भन्दै प्रशंशा गरेका थिए । सम्मान कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, कर्मचारीहरु, स्थानीय सामाजिक अगुवा, पत्रकारहरु र सम्मानित दम्पतिका आफन्तहरूको समेत उपस्थिति रहेको थियो ।