– राजु गौतम
लेटाङ । लेटाङ ४ निवासी युवा समाजसेवी सुन्दर लिम्बूले फजुल खर्च कटाएर ग्रामीण विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा र स्टेसनरी वितरण गर्नु भएको छ । आइतबार लेटाङ ८ लालझोडा स्थित श्री सरस्वती आधारभूत विद्यालयका सम्पूर्ण १९ जना विद्यार्थीहरूलाई विद्यालयमा आयोजित एक कार्यक्रमका बीच लिम्बूले न्यानो कपडा र स्टेसनरी वितरण गर्नु भएको हो ।
उहाँले युवा पुस्तामा फजुल खर्च गर्ने परिपाटी कम गर्न तथा त्यस्ता खर्च कटौती गरि सामाजिक कार्यमा लगानी गर्न हौसला मिलोस् भनेर आफुबाटै सो कार्यको शुरुवात गरेको बताउनुभयो । लिम्बूले सामुदायिक विद्यालयलाई सहयोग गर्दै माथि उठाउनु युवा पुस्ताको समेत जिम्मेवारी रहेको भन्दै आफूले झैँ फजुल खर्च कटाएर सहयोगी हातहरु अघि बढाउन सम्पूर्ण लेटाङका युवाहरूलाई अनुरोध समेत गर्नु भएको छ ।
विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेकोमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देउकुमार राई र प्रधानाध्यापक भरत बरालले सहयोगी दाता सुन्दर लिम्बूलाई विद्यालयको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

