सुन्दरहरैंचा । पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशीसहित मधेस, गण्डकी र वागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहनेछ ।

कोशी तथा बागमती प्रदेशको केही स्थानहरू साथै मधेश र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जनाइएको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाइएको छ । देशका मध्य तथा पश्चिम तराईका भू–भागहरूमा अत्यधिक गर्मी हुने सम्भावना यथावत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।