लेटाङ । प्रथम लेटाङ नगर महिला भलिवल कप २०८१ सञ्चालन हुने भएको छ । नगर खेलकुद विकास समिति, लेटाङ नगरपालिकाको आयोजनामा यही जेठ १३ गतेदेखि १५ गतेसम्म प्रथम नगर महिला भलिवल कप सञ्चालन हुन लागेको हो । लेटाङ ४ स्थित भलिवल क्लवको खेल मैदानमा हुने प्रतियोगितामा लेटाङ नगरपालिका भित्रका ९ वटा वडाहरुले सहभागिता जनाउने छन् । नगरपालिकाले जेठ १० गते भित्र खेलाडी दर्ताका लागि वडा कार्यालयहरुलाई पत्राचार गरिसकेको छ ।

प्रतियोगिताको विजेता टीमले ट्रफी सहित नगद ६८ हजार र उपविजेता टीमले ट्रफिसहित ३५ हजार नगद पाउने छन् । यसैगरि तेश्रो स्थान हासिल गर्ने टीमले नगद २० हजार, अनुशासित टीमले नगद ६ हजार र ३ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई नगद १ हजार ५ सयका दरले पुरस्कृत गरिने शिक्षा शाखाका कर्मचारी अनिल मिश्रले जानकारी दिनुभयो ।
अन्यत्रका पालिकाहरुमा उपमेयर कप भनेर नामाकरण गरि सञ्चालन गर्ने अभ्यास रहेकोमा लेटाङमा भने नगर महिला भलिवल कपको नाममा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । खेलकुद प्रतियोगिताहरुलाई कुनै व्यक्ति वा पदसँग जोडेर सञ्चालन गर्नु भन्दा समग्र नगरकै गौरवको रुपमा नामाकरण गरि सञ्चालन गर्ने परिपाटीको सुरुवात गर्दै गरिएको उपप्रमुख कृष्ण कुमारी निरौलाले जानकारी दिनुभयो ।

