जाँते । उज्ज्वल वचत तथा ऋण सहकारी सँस्था लिमिटेड लेटाङ ९ जाँतेको १८ औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष टंब बहादुर बूर्जा मगरको अध्यक्षतामा भएको साधारणसभामा लेटाङ ९ का वडाध्यक्ष नन्दप्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि खतिवडाले. पानसमा दीप प्रज्ज्वलन गर्दै साधारणसभाको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नन्दप्रसाद खतिवडाले सहकारी सँस्थाहरु कागजमा मात्र नभएर यथार्थमै सहकारीको नीति नियम अनुशार चल्नुपर्नेमा जोड दिनुभयो । उहाँले सहकारीहरुको एकीकरण गर्ने राज्यको नीति रहेको भन्दै साविक जाँते क्षेत्रमा रहेका ४ वटा सहकारीहरुको एकीकरण गरेर जानुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि सहकारी सञ्जाल लेटाङका संयोजक गोपाल बारकोटीले देशव्यापी रुपमा धेरै सहकारीहरुमा समस्य देखिएको अवस्थामा लेटाङका सहकारीहरुमा कुनै समस्या नरहेको भन्दै ढुक्क भएर कारोबार गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो ।
साधारणसभमा सहकारी संस्थाका अध्यक्ष टंक बहादुर बूर्जा मगर, सचिव शेरबहादुर मगर, कोषाध्यक्ष मेनुका पौडेल र लेखा समितिका कार्यबहाक संयोजक प्रदीप दुलालले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रमको अवसरमा जेष्ठ नागरिक सदस्य होमादेवी तिम्सिना, असल ऋणि मीना खाती, उत्कृष्ट बाल सदस्य दीव्या पुलामी मगर, उत्कृष्ट मासिक बचतकर्ता रोहित थापा, अपाङ्गता भएका सदस्य रोहणदीप राई र श्री मावि लेटाङ ९ जाँतेबाट कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्रा प्रेरणा आचार्यलाई नगदसहित पुरस्कृत गरिएको छ ।
कार्यक्रममा लेटाङ नगरपालिकाका कार्यपालिका सदस्य ओमप्रकाश विश्वकर्मा, लेटाङ ९ का वडा सदस्य खेमराज ढकाल, पञ्चमुखि वचत तथा ऋण सहकारी सँस्था लेटाङ ८ का अध्यक्ष दुर्गा पोखरेल, नमुना वचत तथा ऋण सहकारी सँस्थाका सचिव मनोरथ घिमिरे, उत्तरी मोरङ महिला सहकारी सँस्थाका अध्यक्ष यशोदा दुलाल, पत्रकार रेवती निरौला, अस्थायी प्रहरी चौकी जाँतेका इञ्चार्ज लगायतको आतिथ्यता रहेको थियो ।
साधारणसभाको कार्यक्रम सँस्थाका सचिव शेरबहादुर मगरले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष अर्जुन विश्वकर्माले राख्नु भएको थियो । साधारणसभामा उपस्थित भएका शेयरसदस्यहरुलाई खाजा खर्च स्वरुप रु ५ सय उपलब्ध गराइएको थियो ।
सँस्थाको वित्तिय अवस्था
साधारणसभामा सञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै सँस्थाका सचिव शेरबहादुर मगरले सँस्थाको कूल वचत २ करोड १९ लाख ७९ हजार ४ सय ८४, शेयर पूँजी २७ लाख ६३ हजार ८ सय र ऋण लगानी १ करोड ९२ लाख २२ हजार ४ सय ५५ रुपैयाँ रहेको जानकारी दिनुभयो ।
यस्तै सँस्थाले आर्थिक वर्ष २०८०।०८१ मा २ लाख ४५ हजार ३ सय ३६ रुपैयाँ खुद नाफा आर्जन गरेको पनि उहाँले जानकारी दिनुभयो ।