– डा.हेमनाथ पौडेल
एक दिन बिहान अपिल र सुजाता भर्खर उठेर हातमुख धुन लागेका थिए । सुजाता आठ वर्षकी र अपिल बाह्र वर्षको थियो । उनीहरूकी आमा भान्सा कोठामा चिया पकाउन लागेकी थिइन् भने बाबा बैठक कोठामा बसेर मोबाइलमा समाचार सुनिरहेका थिए । उता हजुरबुबा चाहिँ पूजाकोठामा के के श्लोकहरू पढ्दै घण्टी बजाइरहनुभएको थियो । अचानक घर हल्लिन थाल्यो । भान्सामा थाल–कचौरा टाङ्टाङ टुङ्टुङ बज्न थाले । घरका भित्तामा झुन्डिएको घडी बेस्सरी हल्लियो । बाहिर सडकमा बिजुलीका खम्बा लरक लरक गरेर ढल्नान् झैँ गरेर हल्लिए । रुखमा बसेका चराचुरुङ्गी चारचार, चिरचिर गरेर चिरबिराउन थाले । नजिकैको गोठका गाईहरू बाँ–बाँ !, बुँ– बुँ ! गरेर कराउन थाले । सडकमा कुकुरहरू भुकिरहेका थिए । भुइँचालो आयो, भुइँचालो आयो भन्दै मान्छेले कराए ।
जमिन हल्लिएर उभिनै नसक्ने भयो । अपिल र सुजाता निकै डराए ।
बाबाले उनीहरूलाई च्याप्प समाते र टेबुलमुनि पसिहाले । उता आमा, हजुरबुबा र घरका अरू सबै हतार हतार घरबाहिर खुला
ठाउँमा निस्के । निकै बेर दरोसँग हल्लायो । सबै डराएका थिए । हल्लिन छोडेपछि
घरभित्र भएका पनि सबै खुला ठाउँमा जम्मा भए । त्यहाँ छिमेकका मानिसहरू पनि भेला
भइसकेका थिए ।
खुला ठाउँमा निस्केपछि सुजाताले भनी– “बाबा ! यो के भएको हो ?
भुत आयो कि क्या हो ?”
अपिलले भन्यो, “कहाँ
भुत हुनु, भुइँचालो पो त । पहिला पनि आएको
थियो नि यस्तो भुइँचालो ।”
दाजु अपिल अलि कुरा बुझ्ने भइसकेको थियो । उसकी बहिनी सुजाता
चाहिँ सानै थिई । उसलाई भुइँचालोका बारेमा केही थाहा थिएन । उसले बुढापाकाहरूले
भुतले तर्साउँछ भन्ने सुनेकी थिई । आज अचानक उसलाई भुतले नै तर्साएजस्तो लाग्यो र
ऊ निकै डराई ।
अनि सुजाताले सोधी– “भुइँचालो भनेको के हो नि ? यसरी जमिन किन हल्लिएको ?”
उनीहरूको कुरा सुनेर हजुरबुबाले भन्नुभयो– ‘‘पृथ्वीका चारै
सुरमा ठुला ठुला हात्तीले पृथ्वीलाई काँधमा बोकेर उभिएका हुन्छन् अनि कहिले काहीँ
उनीहरूले काँध फेर्छन् । यसरी काँध फेर्दा पृथ्वी हल्लिन्छ र भुइँचालो आउँछ ।’’
‘‘यो त
हजुबुबाहरूको कुरा हो । कहाँ हात्तीले बोक्दा पृथ्वी अडिन्छ र । यसको त अर्कै कारण
छ नि ।’’ हजुरबुबाको कुरा अस्वीकार गर्दै
अपिलले भन्यो ।
हजुरबुबाको परम्परागत बुझाइ थियो । यो कुरा आजभोलिका पुस्ताले
विश्वास नगर्नु स्वाभाविक थियो ।
‘‘अर्कै के कारण छ त ? हामीले
जानेको र सुनेको कुरा त यही हो’’ हजुरबुबाले प्रतिक्रिया जनाउनुभयो ।
‘‘त्यसो होइन नि हजुरबुबा । ‘अर्थक्वेक’ लाई हामी भुइँचालो भन्छौँ
के, त्यो त प्राकृतिक कुरा हो नि ।
हैन त बाबा ?’’ उसले बाबासँग समाधान माग्यो
।
उनीहरूका बाबा विज्ञान विषय पढेका मान्छे थिए । बाबाले
मुस्कुराउँदै भने–
“हो बाबु ! हजुरबुबाहरूका पालामा वैज्ञानिक कुराको प्रचार त्यति
थिएन । परम्परागत कुरामा विश्वास
गर्नुपथ्र्यो । अहिले त विज्ञानले धेरै कुरा पत्ता लगाइसक्यो र सबैलाई थाहा
पनि भइसक्यो । यस बारेमा म तिमीहरूलाई सजिलोसँग बुझाइदिन्छु ।’’
अपिलले ‘‘हुन्छ बाबा !’’ भन्यो
अनि बाबाले भने– ‘‘भुइँचालो भनेको पृथ्वीभित्रको हलचल हो र
तिमीले भनेजस्तै यो प्राकृतिक कुरा हो । पृथ्वीका सतहमा ठुला ठुला चट्टानहरू
हुन्छन् । ती चट्टानहरू कहिले काहीँ एकअर्कामा ठोक्किन्छन् र चोइटिन्छन् पनि ।
यसरी चट्टान ठोक्किँदा र चोइटिदा कम्पन उत्पन्न भई जमिन हल्लिन्छ, यसैलाई भूकम्प वा भुइँचालो भनिन्छ ।”
“चट्टान भनेको के हो नि बाबा” ! सुजाताले सोधी ।
‘‘ठिक
कुरा सोध्यौ नानू ! पृथ्वीभित्रका ठुला ठुला प्लेटहरू नै चट्टान हुन् । ती
प्लेटहरू सर्दा र एकआपसमा ठोक्किदा जमिन काप्छ । जुन ठाउँमा ठोक्किन्छ त्यहाँ
ऊर्जा उत्पन्न हुने भएकाले त्यो ठाउँ भूकम्पको केन्द्र हुन्छ अनि त्यसको कम्पनले
वरिपरिका क्षेत्रमा जहाँसम्म प्रभाव पार्छ त्यहाँसम्म जमिल हल्लिन्छ ।” बाबाले भने ।
‘‘यो कुरा कसरी थाहा हुन्छ ? जमिनभित्रको कुरा त देख्न सकिँदैन ?’’ अपिलको छिमेकी साथी चन्द्रमानले जिज्ञासा राख्यो ।
बाबाले हाँस्दै भने– “हो,
हामीले पृथ्वीभित्र के भइरहेको छ भन्ने कुरा
प्रत्यक्ष देख्न त सक्दैनौँ तर भूगर्भशास्त्रीहरूले भूकम्पमापन यन्त्र सिस्मोग्राफ
प्रयोग गरेर भूकम्पको शक्ति र उत्पत्ति स्थान पत्ता लगाउन सक्छन् ।”
‘‘अनि एकैपटक सबै ठाउँमा जमिन नहल्लिएर कुनै कुनै ठाउँमा मात्र
किन हल्लिएको त बाबा ?’’ अपिलले थप जिज्ञासा राख्यो ।
बाबाले भने– ‘‘यो जमिनभित्रको संरचनासँग सम्बन्धित कुरा हो । पृथ्वीको
सतह धेरै ठुला र साना प्लेटहरूमा बाँडिएको छ । यी प्लेटहरू स्थिर नभएर चलायमान र
खुम्चिने पनि हुन्छन् अनि कुनै ठाउँका दरा र कुनै ठाउँका कमजोर पनि हुन्छन् ।
त्यसैले ठाउँअनुसार भूकम्प जाने र नजाने हुन्छ । जुन ठाउँका प्लेटहरू बढी दरा र कम
चलायमान हुन्छन्, त्यहाँ भूकम्प कम हुन्छ,
जुन ठाउँका प्लेटहरू बढी चलायमान र कमजोर
हुन्छन्, त्यहाँ भूकम्प भइरहन्छ ।’’
‘‘भूकम्प कसरी हुन्छ भन्ने बारेमा बताउन सक्ने वैज्ञानिकहरूले
कहिले भूकम्प आउँछ भनेर चाहिँ किन बताउन नसकेका होलान् ?’’ पल्लो
घरको पर्वतले सोध्यो ।
‘‘ठिक कुरा सोध्यौ तिमीले । भूकम्प कुन ठाउँमा आउन सक्छ भन्ने
कुरा पत्ता लगाउन सके पनि कतिखेर आउँछ भन्न चाहिँ विज्ञानले सकेको छैन । यो अचानक
आउने प्राकृतिक घटना हो । यसलाई ठ्याक्कै पूर्वानुमान गर्न गारो छ तर पशुहरूको
असामान्य व्यवहार, पानीको सतहमा हुने
परिवर्तन, वायुमण्डलीय प्रभाव, ग्यासको उत्सर्जन आदिका घटनाबाट केही सङ्केतहरू भने
प्राप्त हुन्छन् ।’’ अपिलका
बाबाले प्रस्ट पारे ।
‘‘अनि हामी किन लुकेका त बाबा ? ’’ सुजाताले फेरि सोधी ।
‘‘भूकम्प
आउँदा जमिन हल्लिन्छ अनि मानिसले बनाएका घर, पर्खाल आदि संरचना कमजोर छन् भने भत्केर हामीलाई किच्न सक्छन्,
त्यसैले सुरक्षित हुन हामीले खाट अथवा
टेबुलमुनि पस्ने अथवा बाहिर खुला ठाउँमा गएर बस्ने गर्नुपर्छ, कुनै लड्ने र किच्ने कुराको नजिक बस्नुहुँदैन । खाट
वा टेबुलमुनि बस्ता घर लडेर किचिहाल्यो भने पनि बच्न सकिन्छ । डराउनु हुँदैन तर
सतर्क भने हुनुपर्छ ।” बाबाले भने ।
सबै बाबाका कुरा सुनिरहेका थिए फेरि जमिन हल्लियो । आमा घरभित्र
गएर भान्सामा काम गर्न मात्र थालेकी थिइन् ‘‘परकम्प आयो’’ भन्दै कुदेर बाहिर आइन्
।
सबै फेरि सतर्क भए । एकछिनपछि जमिन हल्लिन छाड्यो अनि ‘‘परकम्प
भनेको चाहिँ के हो नि काका !’’ भनेर
आँगनमा भेला भएकी छिमेकी छोरी कमलाले जिज्ञासा राखी ।
‘‘भूकम्प हुँदा जमिनमुनिका प्लेटहरू ठोक्किएर सरेका हुन्छन् र
तरङ्ग भइरहेको हुन्छ । तिनीहरू कुनै तत्कालै र कुनै केही दिनपछि पुनः व्यवस्थित
हुने र सन्तुलनमा आउने गर्छन्, यस
वेला पनि जमिन हल्लिन्छ । यसैलाई
परकम्पन भनिन्छ तर परकम्पन मुख्य भूकम्पजस्तो ठुलो हुँदैन। ’’उनले सबैलाई बुझाए ।
उनको कुरा सुनेर आँगनमा
जम्मा भएका सबैले कुरा त यो पो रहेछ भनेर भूकम्प आउने कारणका बारेमा थाहा पाए अनि
सुजाताले पनि भूकम्प भनेको भुत नभएर जमिन हल्लिएको पो रहेछ भन्ने कुरा बुझी ।
त्यहाँ भेला भएका सबै खुसी भए र आआझफ्नो घर लागे ।