इटहरी । युवाहरुमा राष्ट्रियताको भावना जगाउने उद्देश्यका साथ गायक नगेन्द्र कटुवालले “देश बचाउन युवा उठ” बोलको राष्ट्रिय गीत निर्माण गर्नु भएको छ । कटुवालले निर्माण गरेको गीतको म्युजिक भिडियो शुक्रबार सुनसरीको इटहरीमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभयो । भिडियो सार्वजनिक गर्दै पूर्वमुख्यमन्त्री राईले गीतले युवाहरु देशप्रति संवेदनशील हुनुपर्ने सन्देश बोकेको भन्दै देशभक्ति जगाउने यस्ता गीतहरु अझै निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यस्तै कोशी प्रदेशका पूर्वउपसभामुख सरस्वती पोखरेलले गीतको माध्यमबाट युवाहरुमा देशभक्ति भावना जगाउन सकिने भन्दै गीत देशभक्ति जागृत गर्ने भरपर्दो माध्यम बनेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गायक नगेन्द्र कटुवालले नेपालीहरुमा रहेको देशभक्तिको भावना अझ प्रगाढ बनाउन मद्दत पुगोस् भनेर म्युजिक भिडियोसहितको राष्ट्रिय गीत निर्माण गरेको जानकारी दिनुभयो ।
काव्यकला क्रिएशनको प्रस्तुति रहेको गीतमा नरेश खड्काको शब्द तथा बलराम समालको संगीत रहेको छ । गीतको म्युजिक भिडियो काव्यकला क्रिएशनका रोहित खनालले निर्देशन तथा सम्पादन गरेका हुन् भने केशव खनालले छायाँकन गरेका हुन् । राष्ट्रियताको भावनाबाट ओतप्रोत गीतमा युवाहरु देशप्रति जिम्मेवार रहनु पर्ने भन्ने सन्देश दिन खोजिएको छ ।