जाँते । लेटाङ ८ स्थित किराँत संग्राहलय परिसरमा आज शुक्रबार उभौली पर्व हर्सोल्लासपूर्वक मनाइएको छ । कोशी प्रदेश सरकारद्वार निर्माण गरिएको किराँत संग्राहलय तथा भ्यूटावर परिसरमा रहेको साकेला थानमा पूजागरि राईहरुको साँस्कृति नृत्य साकेल सीली प्रदर्शन गर्दै उभौली पर्व मनाइएको हो ।

हरेक वर्षको वैशाखे पूर्णिमादेखि सुरु भएर १५ दिनसम्म मनाइने उभौली पर्व अन्तरगत आज शुक्रबार लेटाङ ८ मा रहेको साकेल थानमा विशेष पूजा गरि उभौली पर्व मनाइएको हो ।

लेटाङका विभिन्न वडाबाट भेला भएका किराँत राई समुदायका मानिसहरुले साकेला थानमा पूजा गरि साकेल नृत्य गर्दै हर्सोल्लासपूर्वक उभौली मनाएका हुन् । सो अवसरमा अन्य समुदायका मानिसहरुले पनि साकेल थानमा पूजा गर्दै साकेला सीली नृत्य हेरेर मनोरञ्जन लिंदै उभौली पर्व मनाएका छन् ।

यसैबीच आजैदेखि किराँत संग्राहलय तथा भ्यूटावर सञ्चालनमा ल्याएको छ । निर्माण भएको लामो समयसम्म बन्द अवस्थामा रहेकोमा लेटाङ नगरपालिकाले उपलब्ध गराएको ५ लाख रुपैयाँ बजेटबाट भवन मर्मत संभार गरि संग्राहलयमा सामाग्रीहरु स्थापना गरेपछि सञ्चालनमा आएको हो ।
संग्राहलय तथा भ्यूटावर आजदेखि सर्वसाधारणका लागि दैनिक रुपमा खुला गरिएको किराँत राई यायोक्खा लेटाङ–८ अध्यक्ष कृष्ण राईले जानकारी दिनुभयो ।