लेटाङ । लेटाङ नगरपालिकाले विभिन्न व्यक्ति तथा विद्यालयलाई सम्मान गरेको छ । सोमबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा जग्गादाता, उत्कृष्ट शैक्षिक संस्था, सेवाप्रदायक कर्मचारी, शिक्षक, विद्यार्थी, खेलाडी र कृषकहरूलाई सम्मान गरिएको हो ।
लेटाङ ५ का जग्गादाता सम्मानित
कार्यक्रममा लेटाङ ५ मा वडा कार्यालय भवन र स्वास्थ्य केन्द्र निर्माणको लागि निःशुल्क जग्गा उपलब्ध गराउने टोमनाथ मगर, पुनम मास्की मगर, घनश्याम मगर, मानबहादुर चौहान, डम्बर कुमारी कार्की, र अर्थ बहादुर कार्कीलाई सम्मान गरिएको हो । उहाँहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित सम्मान गरिएको हो ।
दीर्घसेवा शिक्षक तथा कर्मचारीलाई सम्मान
नगरपालिकलो आर्थिक वर्ष २०८१÷८२ मा अवकाश पाएका शिक्षक–कर्मचारीहरू श्रीप्रसाद ढकाल, नारायण खतिवडा र बलबहादुर मगरलाई दीर्घकालीन सेवाको कदर गर्दै सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाएर सम्मान गरेको छ ।
इनोभेटिभ टिचर र उत्कृष्ट कर्मचारी सम्मान
‘इनोभेटिभ टिचर’ को रुपमा देवराज सापकोटा (लक्ष्मी मावि, लेटाङ–२) र ‘नगरको उत्कृष्ट कर्मचारी’ को रूपमा सि.अ.हे.व. इन्द्रकलाकुमारी चौधरी (वारङ्गी स्वास्थ्य चौकी, लेटाङ–७) लाई सम्मान गरिएको छ । दुवैजनालाई सम्मानपत्र प्रदान गरि दोसल्ला ओढाएर सम्मान गरेको छ ।
उत्कृष्ट विद्यार्थीलाई सम्मान
२०८० सालको एसइइ परीक्षमा सामुदायिक विद्यालयतर्फबाट उत्कृष्ट जीपीए ३.७० प्राप्त गर्ने लक्ष्मी माध्यमिक विद्यालय, लेटाङ–२ की छात्रा पूजा दाहाल र ३.९१ जीपीए प्राप्त गर्ने शिक्षा विकास माध्यमिक विद्यालय, लेटाङ–५ का आभाष मिश्रलाई सम्मान गरिएको छ ।
यस्तै २०८० सालको एसइइ परीक्षमा सँस्थागत विद्यालयतर्फ ३.६५ जीपीए ल्याउने ग्यालेक्सी एकेडेमी, लेटाङ–३ की सामना लिम्बु र ३.४५ जीपीए प्राप्त गर्ने लेटाङ ग्रीनभ्याली एकेडेमी, लेटाङ–४ का गौरव अधिकारीलाई सम्मान गरिएको छ ।
यस्तै २०८१ सालको कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पनि सोही समारोहमा सम्मान गरिएको छ । उत्कृष्ट जीपीए ल्याउनेमध्ये लक्ष्मी मावि, लेटाङ–२ की अनुस्का मगर, शान्ति भगवती मावि, लेटाङ–४ का पृथ्वीराज कटुवाल र नोबेल एजुकेशन डेभलपमेन्ट एण्ड फाउण्डेसन, लेटाङ–८ का अर्लि मगर र आयुस खत्रीलाई सम्मान गरिएको हो ।
विद्यालयहरूलाई कार्यसम्पादनमा पुरस्कार
शैक्षिक क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयहरू मध्ये शान्ति भगवती मावि लेटाङ–४ ले पहिलो र श्री शिक्षा विकास मावि लेटाङ–५ ले दोस्रो स्थान प्राप्त गर्दै नगद अनुदानसहित सम्मान प्राप्त गरेका छन् । आधारभूत विद्यालयतर्फ श्री बाल विकास आ.वि. लेटाङ–१ पहिलो र श्री पब्लिक प्रा.वि. लेटाङ–६ दोस्रो भएका छन् ।
यसैगरि २०८१ को एसइइमा सर्वाधिक प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने विद्यालय लेटाङ–७ पित्लुम्बा स्थित लक्ष्मी माविलाई सम्मान गरिएको छ ।
तीन जना कृषक सम्मानित
उत्कृष्ट कृषकको रुपमा कफि खेती गर्दै आएका लेटाङ ७ का राजविक्रम राई, च्याउ खेति गर्ने लेटाङ ९ का राजन सापकोटा र तरकारी खेति गर्ने लेटाङ ३ की पलम कुमारी मगरलाई सम्मान गरिएको हो ।
खेलाडीहरुलाई सम्मान
कोशी प्रदेशको टीमबाट खेल्न सफल महिला भलिबल खेलाडी लिला लिम्बु, सोलिना लिम्बु र स्मृति राईलाई सम्मान गरिएको छ । यसैगरि वी डिभिजनको क्लवबाट खेल्न सफल फुटबल खोलाडी ध्रुव तिरुवा र सुमन मगरलाई पनि सम्मान गरिएको छ ।
यस्तै प्रदेश स्तरीय कराँते प्रतियोगितामा स्वर्णपदक विजेता खेलाडी दीपशिखा राई र पुजन विकलाई पनि सम्मान गरिएको छ ।