मोरङ । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन आजदेखि विराटनगरमा सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा विराटनगरस्थित एक होटलमा अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको छ ।
नेकपा एमालेले देश संघीय संरचनामा गएपछि पहिलोपटक अधिवेशनमार्फत प्रदेशको नेतृत्व चुन्न लागेको हो । अधिवेशनबाट अध्यक्षसहित ५ जना पदाधिकारी गरि जम्मा २ सय १५ सदस्यीय प्रदेश कमिटी निर्वाचित हुनेछ ।
खतिवडा र ढकालबीच मुख्य प्रतिस्पर्धा
नेकपा एमाले कोशी प्रदेशको अध्यक्ष पदमा मुख्यगरि २ जनाको प्रमुख दावेदारी देखिएको छ । कोशी प्रदेश सचिवालय सदस्य तथा मोरङ क्षेत्र नम्बर १ का पूर्वसांसद् घनश्याम खतिवडा र नेकपा एमाले केन्द्रीय सदस्य विनोद ढकालबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
त्यसो त हालका अध्यक्ष संखुवासभाका तुलशी न्यौपाने र हालका उपाध्यक्ष धनकुटाका टीकाराम चेम्जोङको नाम पनि चर्चामा रहेको छ । तर न्यौपानेलाई केन्द्रीय सदस्य तथा चेम्जोङलाई उपाध्यक्षमा मनाएको अवस्थामा खतिवडा र ढकालबीच नै प्रतिस्पर्धा हुने अवस्था आउने देखिन्छ ।

ठूला नेताहरु कसको पक्षमा ?
यता पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वसांसद खतिवडालाई ग्रीन सिग्नल दिएको चर्चा चलेसँगै कोशी प्रदेशका अधिकांश केन्द्रीय नेताहरु पनि खतिवडाकै पक्षमा देखिएको नेकपा एमालेका एक नेताले बताए । नेताहरु गुरु बराल, शेरधन राई, अग्नी खरेल, भानुभक्त ढकाल, हिक्मत कार्की लगायत खतिवडाकै पक्षमा रहेको बताइएको छ ।
यता ढकालको पक्षमा मुख्यगरि पूर्वमन्त्री तथा एमालेका पूर्वसचिव भीम आचार्य देखिएका छन् । खतिवडा र ढकाल दुवै ओली पक्षकै भएपनि दुवै जनाले अधिवेशनको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्दा खतिवडालाई अध्यक्ष ओलीले अघि बढ्न संकेत गरेको खतिवडाका नजिकका नेता कार्यकर्ताहरुले बताउने गरेका छन् ।
जसका कारण पनि खतिवडाकै पक्षमा सहमति जुटाउन कोशी प्रदेशमा रहेका केन्द्रीय नेताहरुलाई दबाब परेको देखिन्छ । यता अध्यक्ष पदमा उठ्ने भनिएका तुलसी न्यौपाने र टीकाराम चेम्जोङले पनि दाबी फिर्ता लिएको अवस्थामा खतिवडालाई नै सघाउने बुझिएको छ ।

खतिवडाको नाममा जुट्ला त सहमति ?
यता विनोद ढकाल भने आफ्नो नाममा सहमति नजुटे चुनावमै जाने गरि तयारीमा लागेको बताइएको छ । हुन त ढकालले आफू निकटसँग असोज ५ गते नै केन्द्रीय सदस्यबाट राजीनामा दिएर अध्यक्षको उम्मेदवारी घोषणा गर्ने बताएको भएपनि अहिलेसम्म राजीनामा दिएका छैनन् । त्यसकारण पनि ढकाल अध्यक्ष ओलीको कुरा काटेर अघि बढ्ने अवस्था नरहेको एक केन्द्रीय नेताले बताए ।
अध्यक्ष ओलीले चुनाव नै गरौं नत भनेको अवस्थामा बाहेक कोशी प्रदेशमा घनश्यामकै नाममा सहमति जुट्ने संभावना देखिएको श्रोतले जनाएको छ । चुनावमा गएकै अवस्थामा समेत अध्यक्षको ग्रीनसिग्नल, अधिकांश केन्द्रीय नेताको समर्थन तथा अन्य २ प्रतिस्पर्धिको समेत साथ पाएका खतिवडाकै पक्षमा नतिजा आउन सक्ने खतिवडा पक्षका एक नेताको दावी छ ।
ढकालको संभावना कति ?
यति हुँदा हुँदै पनि विनोद ढकालले अध्यक्ष ओलीलाई मनाउन सकेमा पार्टी अध्यक्षको आग्रहमा घनश्याम खतिवडाले दाबी फिर्ता लिएर ढकालको नाममा सहमति जुट्ने थोरै संभावना पनि देखिन्छ । खतिवडाले कार्यकर्ताहरुसँगको अनौपचारिक कुराकानीमा आफु अध्यक्षको उम्मेदवार भएको र अध्यक्षले फिर्ता लिनु भनेको अवस्थामा पछि हट्न पनि तयारी रहेको बताउने गरेका छन् । यस्तो अवस्थामा खतिवडाको सट्टा ढकालकै नाममा सहमति जुट्यो भने पनि अचम्म नमान्दा हुन्छ ।
सहमतिमा नेतृत्व चयन गर्न नेताहरुको निर्देशन
अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता ईश्वर पोखरेल लगायतले सहमतिमै नेतृत्व चुन्न निर्देशन दिनु भएको छ । अध्यक्ष ओलीले सहमतिमा नेतृत्व चुन्न निर्देशन दिंदै सहमति नजुटेको अवस्थामा मात्रै मीत्रवत प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
उहाँले नेतृत्वको संकेत बुझेर अघि बढ्न पनि आग्रह गर्नुभयो । जसबाट पनि कोशी प्रदेशका केन्द्रीय नेताहरुलाई खतिवडाकै पक्षमा सहमति जुटाउन दबाब सिर्जना भएको छ ।
यस्तै वरिष्ठ उपाध्यक्ष पोखरेलले पनि सहमतिमा नेतृत्व चयन गर्नुपर्ने बताउनुभयो । उहाँले एमाले मिशन ८४ मा लागेकाले समतिमा नेतृत्व चयन गर्नुपर्ने अवस्था रहेको भन्दै प्यानल बनाएर निर्वाचनमा गए सैह्य नहुने चेतावनी दिनुभयो ।
यसैबीच एमाले महासचिव शंकर पोखरेलले आज विराटनगरमै रहेर सहमतिको प्रयास गर्ने बताइएको छ । अध्यक्ष ओली लगायतका नेताहरु फर्किए पनि महासचिव पोखरेल लगायतका नेताहरुले सहमति जुटाउने प्रयास गर्ने बताइएको छ ।