लेटाङ । लेटाङ नगरपालिकाको पर्यटकीय क्षेत्र लेटाङ ७ समलामा खानेपानी आयोजना सञ्चालनमा आएको छ । पछिल्लो समय पर्यटकहरुको रोजाइमा पर्दै आएको समला क्षेत्रमा खानेपानी अभाव हुँदा स्थानीयवासीलाई निकै समस्या परेको थियो । गाउँघरमै प्रयोग गर्ने खानेपानीका लागि खहरे खोल्सा धाउनुपर्ने झन्झट झेल्दै आएका समलावासीलाई पर्यटकहरुका लागि पानी जोहो गर्नुपर्दा अझ समस्या थपिएको थियो ।
यसअघि सञ्चालनमा आएको लुमाइ खानेपानीले माग धान्न नसकेपछि स्थानीयवासी सुख्यायाममा खानेपानीका लागि स्थानीय कुवा र खोल्सामा धाउन बाध्य बनेको स्थानीयवासी राजविक्रम राई राई बताउनुहुन्छ ।
गत आर्थिक वर्षमा लेटाङ नगरपालिकामार्फत ३४ लाख रुपैयाँको लागतमा समला डाँडामा खानेपानीको ट्यांकी निर्माण गर्नुका साथै खानेपानीको मुहान कालीखोलादेखि ट्यांकीसम्म करिव ६ किलोमिटर क्षेत्रमा पाइपलाइन जडान गरिएको थियो ।

पाइपलाइन जडान गरेपनि ट्यांकीबाट गाउँटोलसम्म धारा वितरण हुन नसकेकोमा चालु आर्थिक वर्षमा लेटाङ नगरपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेपछि स्थानीयको समेत लागत सहभागीतामा टोल टोलसम्म पाइप लाइन विस्तार गरिएको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो ।
उपभोक्ता समितिका अध्यक्ष पदमकुमार राईका अनुशार खानेपानीको ट्यांकीबाट करिव ३ हजार मिटर पाइपलाइन विस्तार गरि विभिन्न टोलामा १३ वटा धारा पुर्याइएको छ । समला क्षेत्रका पँधेरे, गरगरे, तीनपाटा, भीरगाउँ, कार्तिके, गहिरी टोल, डाँडा टोल र लाम्टे का गरि ५७ घरधुरीलाई पुग्ने गरि धारा वितरण गरिएको हो ।
खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि समलावासी निकै हर्षित भएका छन् । अब भने कुवाबाट घण्टौँ लगाएर खानेपानी ल्याउनु पर्ने समलावासीको दुःखका दिन सकिएको अध्यक्ष राई बताउनुहुन्छ । पर्यटन क्षेत्रको रुपमा विकास हुँदै गएको समलामा रहेको खानेपानीको निकै ठूलो समस्या समाधान भएपछि अब पर्यटन विकासले पनि गति लिने उहाँको अपेक्षा छ ।
समला क्षेत्रमा विद्युतीकरण यसअघि नै भइसकेको छ भने कच्चि बाटो पुगेको पनि निकै वर्ष भयो । तर खानेपानीको भने सँधै अभाव रहँदै आएकोमा त्यो समस्या पनि टरेको छ । समला हुँदै जाने कालेबुदुली सडक कालोपत्रेका लागि ठेक्का लागेर काम हुँदै गरेकाले अब सो सडक निर्माण सम्पन्न भएपश्चात समला क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने कुरामा दुइमत छैन ।