पथरीशनिश्चरे । लाहा खेतीको प्रवर्धन गर्ने उद्देश्यले उत्तरी मोरङका पत्रकारहरुलाई भेला गराएर लाहा खेति बारे जानकारी प्रदान गरिएको छ । मोरङको पथरीशनिश्चरेमा शनिबार लाहा खेती प्रवर्धनमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेर उत्तरी मोरङका पत्रकारहरुलाई लाहा खेति बारे जानकारी गराइएको हो ।
नेपाल पत्रकार मञ्च पथरीको आयोजनामा तथा डिभिजन वन कार्यालय मोरङको आर्थिक सहयोगमा भएको कार्यक्रममा उत्तरी मोरङका लेटाङ, सुन्दरहरैंचा, बेलबारी, कानेपोखरी, पथरीशनिश्चरे, उर्लाबारी लगायतका क्षेत्रमा कृयाशील पत्रकाहरु सहभागी भए ।
डिभिजन वन कार्यालय मोरङका प्रमुख उत्सव थापाको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा लाहा खेतीका जानकारी व्यक्ति डिभिजन वन कार्यालय मोरङका पूर्वप्रमुख विष्णुलाल घिमिरे र लाहा व्यवासयी डम्बर विश्वकर्माले लाहा खेति, नेपालमा यसको अवस्था र संभावना बारे पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
डिभिजन वन कार्यालय मोरङका पूर्वप्रमुख विष्णुलाल घिमिरेले हाल झापा र मोरङका विभिन्न स्थानमा लाहा खेती विस्तार भइरहेको जानकारी गराउँदै लाहाबाट चप्रा उत्पादन गरि फर्निचरमा रङ लगाउन, श्रृंगारका सामाग्री बनाउन र औषधिजन्य उद्योगहरूमा प्रयोग गर्न सकिने बताउनुभयो ।
हाल नेपालमा ठूलो मात्रामा चप्रा आयात भइरहेको अवस्थामा नेपालमै लाहाको व्यवसायीक खेति गरेर चप्रा उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्नुका साथै किसानहरुलाई आयआर्जन समेत हुने उहाँले बताउनभुयो ।
कार्यक्रमका अर्का वक्ता झापाको गौरादहका लाहा व्यवसायी किसान डम्बर विश्वकर्माले नेपालमा लाहा खेतीको व्यवसायिक सम्भावना रहेको भन्दै कोशी नदीदेखि मेची खोलासम्म राजमार्ग उत्तरको सुख्खा चुरे क्षेत्रमा लाहा खेति फष्टाउने बताउनुभयो ।
हाल मोरङमा लेटाङ ८ को लालझोडा, लेटाङ १ को अँधेरी र धनकुटाको चौविसे गाउँपालिका लगायतका क्षेत्रमा लाहा पाइएको बताउँदै उहाँले धनुकटामा व्यवसायीक रुपमै खेति हुन थालेको जानकारी दिनुभयो ।

लाहा किरालाई खयर, बयर, मौवा प्रजातिका रुख विरुवासँगै सामिया लता जातको विरुवामा लगाएर त्यसबाट वर्षमा २ पटक लाहा टीप्न सकिने उहाँको भनाइ छ ।
लाहाको कच्चापदार्थ प्रतिकेजी २५० देखि ६ सयसम्म र प्रशोधन गरेपश्चात प्रतिकेजी १ हजार ८०० देखि १ हजारसम्ममा बिक्री हुने गरेको विश्वकर्माले जानकारी दिनुभयो ।